Logo

अफगानिस्तानबाट नेपालीलाई उद्धार गर्न सरकारले किन ढिलाई गरिरहेको छ ? : डा. राजन भट्टराई (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले भारत यो क्षेत्रकै लागि अनुरकणीय देश भएकोले यसको विकास र समृद्धिबाट सबैले सिक्नुपर्ने बताएका छन् । भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा आफू र पार्टीको तर्फबाट भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै नेता भट्टराईले यस्तो बताएका हुन् ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भारतले पछिल्लो समय हाँसिल गरेको विकास र समृद्धि उदाहरणीय भएको बताए । भारतसँग नेपालको पूरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । तर, भारतसँग रहेका कतिपय समस्या भने कुटनीतिक माध्यम र सम्वादमाफर्त समाधान गर्नुपर्ने उनको भनाई छ । उनले भारतसँगको नेपालको सम्बन्ध आधारभूत रुपमा सकारात्मक दिशातर्फ नै अघि बढेको पनि टिप्पणी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अफ्गानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाई गरिरहेको छ ? भनेर प्रश्नसमेत गरे । उनले भने,‘अफ्गानिस्तानमा अहिले जे भैरहेको छ, त्यो सशस्त्र र हिंसात्मक गतिविधि अन्त्य हुनुपर्छ, र शान्ति बहाली हुनुपर्छ भन्ने हाम्रो भनाई हो । हिंसात्मक गतिविधिलाई प्रशय दिने काम गर्नुहुँदैन् ।’

अफ्गानिस्तानमा कानूनसम्मत् र गैरकानूनी रुपमा कति नेपाली छन् ? भन्ने तथ्यांक यकिन नभएपनि हजारौंको संख्यामा रहेको कुरा आएकोले सरकारले तत्काल उनीहरुलाई उद्धार गर्नुपर्ने उनको माग छ । उनले भने,‘अहिले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा गर्नु प्रधान कुरा हो । किन ढिलाई भैरहेको छ, मलाई त आश्चर्य लागेको छ ।’

तालिबानले अफ्गानिस्तानका मुख्य मुख्य शहर कब्जा गरिसकेको समाचार आएकोले अब नेपाल सरकारले ढिला नगरीकन नेपालीहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिलेको यो संवदेनशीलतालाई ध्यानमा राखेर सरकारले उद्धारको लागि पहल गरोस् ।’ उनले आफूहरुको चाहना भनेको अफगानिस्तानमा शान्ति कायम होस भन्ने रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्