Logo

अफगानिस्तानबारे क्षेत्रिय दृष्टिकोण बनाउनको लागि प्रधानमन्त्री सक्रिय हुनुपर्छ : डा. पाण्डे (भिडिओसहित)



‘भारतबाट नेपालले धेरै कुरा सिक्नुपर्छ’

काठमाडौं, ३१ साउन । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफ्गानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले तालिबानले अफगानिस्ताको मुख्य मुख्य शहर कब्जा गरिसकेको र अब राजधानी काबुल मात्रै कब्जा गर्न बाँकी रहेकोले नेपाल सरकारले आफ्ना नागरिकलाई यथाशक्य चाँडो नेपाल ल्याउनुपर्ने बताए । नेपाल सार्क राष्ट्रको अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्रीले अफगानिस्तानबारे क्षेत्रिय दृष्टिकोण बनाउनको लागि सक्रियता लिनुपर्ने पनि उनको सुझाव छ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अफ्गानिस्तानमा लिगल/ईलेगल कति नेपाली छन्, त्यसको तथ्यांकसमेत हामीसँग यकिन छैन्, अहिले त्यहाँ रहेका नेपालीहरु अत्यन्तै भल्नरेवल अवस्थामा छन् । उनीहरुलाई तत्काल नेपाल फिर्ता ल्याउनुपर्छ ।’ त्यस्तै, उनले भारतले पछिल्ला वर्ष धेरै प्रगति गरेको पनि सुनाए । नेपालको विकास र समृद्धिमा पनि भारतले धेरै सहयोग गर्दै आएको उनले स्मरण गराए । हालै कोभिड–१९ को महामारीमा पनि भारत सरकारले सकारात्मक सहयोग गरेको पनि पाण्डेले उल्लेख गरे । भारतको विकासबाट नेपालले सिक्नुपर्ने, संघीयता र धर्मरिनपेक्षतालाई पनि भारतले राम्रोसँग ह्याण्डल गरेको उनको भनाई थियो ।

त्यस्तै, भारको परराष्ट्र नीति राष्ट्रिय सहमतिको आधारमा निर्माण हुने गरेको र बलियो रहेको पनि उनले स्मरण गराए । उनले भने,‘भारतको मुख्यमन्त्रीले विदेश भ्रमण गरेपनि त्यहाँको विदेश मन्त्रालयसँग अनुमति लिनुपर्छ ।’ छिमेकीलाई भारतले जहिलेपनि प्राथमिकतामा राखेको र नेपालमा पनि विभिन्न प्राकृतिक प्रकोप आईपर्दा भारतले फस्ट रेस्पोण्डरको रुपमा सहयोग गरेको उनको भनाई छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त छिमेक पहिलो प्राथमिकताको नीति नै लिएको उनले स्मरण गराए । डा. पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल सरकारलाई पूर्णता दिनको लागि सुझाव दिए । उनले भने,‘सरकार बनेको यतिका दिन भैसकेको छ, सरकारलाई पूर्णता दिनुपर्छ । फूल फ्लेज्डको परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्छ ।’ उनले भारतले नेपालमा जो प्रधानमन्त्री भएपनि सरकारसँग डिल गर्ने भएकोले आगामी दिनमा नेपाल–भारत सम्बन्ध सुमधुर नै हुने विश्वास दिलाए । उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्