Logo

रावल-पोखरेल भेटले एमालेमा तरंग, ओली र नेपाललाई धक्का दिनसक्ने



काठमाडौं, ३१ साउन । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल र महासचिव ईश्वर पोखरेल बीचको भेटवार्ताले राजनीतिक तरंग ल्याएको छ । दुई नेताबीच धापासीस्थित पोखरेल निवासमा एमाले एकता कायमै राख्न पहल गर्ने सहमति भएको छ ।

एमालेभित्र दोस्रो पुस्ताका हस्ती यी दुई नेता एक अर्काका कटु आलोचक थिए । दुवैबीच लामो समयपछि एक्ला एक्लै भेटवार्ता भएको हो । तर, एमाले एकता कायम राख्नेबारे दुवै एकमत भएका छन् ।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल कुनै हालतमा नमिल्ने गरी विभाजनको दिशामा बढिरहेका छन् । ओली र नेपाल एकताको पक्षमा नदेखिएपछि दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेप गर्ने आँट गर्ने चर्चा चलिरहँदा रावल र पोखरेल भेटेर सहमति गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार रावल र पोखरेलले एकता बचाउन कठोर कदम चाल्नेसम्मबारे छलफल गरेका छन् । उनीहरुले पार्टीको विधान अनुसार र विगतमा भएको १० बुँदे सहमतिको जगमा एकता जोगाउनेबारे सहमति गरेका छन् ।

एमालेभित्र ७० वर्षको उमेर हद विधानमा उल्लेख छ । यसलाई लागू गर्न रावल र पोखरेलसहित दोस्रो पुस्ताका नेताहरुले साहस गरेमा नयाँ घटना विकास हुन सक्छ । एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम ७० कटिसकेका छन् । विधान अनुसार उनीहरु स्वतः एमालेको सक्रिय कमिटीमा रहन मिल्दैन । वरिष्ठ नेता माधवकुमार नेपाल ७० पुग्न केही महिना मात्र बाँकी छ ।

एमालेको दोस्रो पुस्ताका हस्ती नेताहरु रावल, पोखरेलका अलावा सुरेन्द्र पाण्ड, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य एकताको पक्षमा सक्रिय छन् । उनीहरु एक भएर ओली र नेपालसहित पहिलो पुस्ताका नेताहरुलाई धक्का दिएर बढ्ने सम्भावना टरेको छैन ।



प्रतिक्रिया दिनुहोस्