Logo

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि कूटनीतिक मिसन परिचालित छः महानिर्देशक



काठमाडौं, साउन ३२ । वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा रहेको कूटनीतिक मिसन लागिपरेको बताएका छन् । अफगानिस्तान तालिवानको कब्जामा गएपछि अर्को आदेश नभएसम्म त्यहाँ जान हिजोबाट श्रम स्वीकृति रोकिएको पनि दवाडीले जनाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै महानिर्देशक दवाडीले भने, ‘संस्थागत र श्रम स्वीकृति लिएर त्यहाँ गएका नेपालीको संख्या १५ सय छ । दुबई अनि कतारको बाटो भएर अनडकुमेन्टेड रुपमा त्यहाँ पुगेका नेपालीको यकिन तथ्यांक छैन । धेरैजसो नेपाली यूएनका प्रोजेक्ट र नेटोको ग्रिन जोनमा कार्यरत थिए ।’

उनले वैदेशिक रोजगार विभागले वैधानिक रुपमा गएका नेपालीको नाम कूटनीतिक मिसनलाई उपलब्ध गराएर सहयोग गर्ने पनि बताए । उनले भने, ‘अफगानिस्तानमा संस्थागत रुपमा पठाउने म्यानपावरलाई उद्धारका कार्यक्रम पेस गर्न निर्देशन दिइसकेका छौं । उद्धारका लागि नेपालको टोलफ्री कल सेन्टरमा सूचना दिएमा हामी समन्वय गर्छौं ।’

विभागले सरकारकै नीति निर्देशन कार्यान्वयन गर्ने भएकाले अब पनि सरकारकै नीति नियममा रहेर काम गर्ने उनले बताए । उनले भने, ‘अफगानिस्तानमा रहेका कूटनीतिक मिसनले नेपालीको उद्धारका लागि आवश्यक भएमा भारत, अमेरिकासँग पनि समन्वय गर्ला । हामी त्यसलाई सघाउन तयार छौं ।’

महानिर्देशक दवाडीले वैदेशिक रोजगारीका लागि जान चाहने नेपालीलाई खोप सहज रुपमा उपलब्ध भइरहेको पनि बताए । उनले भने, ‘हामीले खोप दिएर पठाए पनि १४ दिनको क्वारेन्टाइनपछि पीसीआर रिपोर्ट नेगेटिभ आएमात्र काममा जान पाउँछन् । वैदेशिक रोजगारीमा जाने नेपालीलाई खोप सुलभ छ ।’



प्रतिक्रिया दिनुहोस्