Logo

‘नेपालमा भारतको सहयोग सुरुदेखिनै रहेको छ, यो सहयोग हामीलाई निरन्तर आवश्यक छ’ : डा. भट्टराई



परराष्ट्रविद् डा. दिनेश भट्टराईले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध थप उचाईमा पुग्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा सम्बन्ध झनै प्रगाढ बन्ने विश्वास दिलाएका छन् । हिजो (आइतबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतसँग नेपालको सरकारीस्तरमा मात्रै नभएर जनस्तरमा पनि उत्तिकै प्रगाढ र सुमधुर सम्बन्ध रहेको बताएका छन् । भारतले नेपाललाई सुरुदेखि नै सहयोग गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यही किसिमको सहयोग निरन्तर आवश्यक रहेको उनको भनाई छ । प्रस्तुत छ डा. भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

भारत स्वतन्त्र भएको ७५ बर्ष पुरा भएको छ, यो अवस्थामा तपाईँ नेपाल–भारत सम्बन्धको बारेमा के भन्न चाहानु हुन्छ ?

सबैभन्दा पहिले भारतले आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाईरहेको छ । यो अवसरमा म त्यहाँको सरकार, जनता हाम्रो मित्रहरुप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । भारतीय जनताको उत्तरोउत्तर प्रगतिको कामना भन्न चाहन्छु । हामी नजिकका मित्र हौँ । भारतको स्वतन्त्रता संग्राममा नेपाली नेताहरुको पनि त योगदान छ । नेपालमा प्रजातन्त्रको सुरुवात भारतको स्वतन्त्रतासंगै हुन्छ । भन्ने हामीले देखेका छौँ । त्यसैले भारतले आज स्वतन्त्रता दिवस मनाईरहेको छ । त्यसमा हाम्रो पनि धेरै–धरै शुभकामना छ ।

त्यसोभए अब नेपाल–भारतको बीचमा सम्बन्ध कसरी अगाडि बढ्ला ?

नेपाल–भारत सम्बन्ध धेरै नजिकको सम्बन्ध हो । यो आँफैमा अनुपम सम्बन्ध छ । सरकारस्तर मात्रै नभएर जनस्तरको पनि सम्बन्ध छ । अब हामीले विगतबाट सिकेर भविष्यका सम्भावनाहरुलाई हेर्नुपर्छ र, हाम्रो जतिपनि समस्या छन । र, हाम्रा जतिपनि सम्भावनाहरु छन । ती सबैलाई हामी मिलेर दुई देशको बीचमा आपसी सम्मान आपसी सहयोगबाट हामीहरुले ती सबै कुरा हरुलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

नेपालले स्वतन्त्र रुपमा विकास र प्रगति गर्नुमा भारतको कति हात छ ?

सरुदेखि नै भारत हाम्रो लोकतान्त्रिक यात्रामा भारतका सहयोग हामीले बिर्सन सक्दैनौँ । र, भारतले नेपालको लागि जुन सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग गरेको छ । त्यसलाई पनि हामीले बिर्सन सक्दैनौँ । भारतको सहयोग सुरुदेखिनै रहेको छ र यो सहयोग हामीलाई निरन्तर आवश्यक छ ।

नेपाल र भारत बीचमा धेरै समस्याहरु छन, नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले शुभकामना त दिनुभएको छ तर ति समस्याहरुको समाधानतिर पहल भईरहेको छ ?

नयाँ सरकारको पहल अब सुरु हुन्छ । नेपालमा नयाँ सरकार भर्खर त आएको छ । प्रधानमन्त्रीज्युले संसद्मा भनिसक्नुभएको छ । हाम्रो पराष्ट्र नीतिको प्राथमिकता छिमेकीहरुबाट सुरु हुन्छ । हामी त्यसभन्दा बाहिर गएर साथीहरु जो हुनुहुन्छ । अमेरिका, युरोप यी सबै मुलुकहरुसंग हाम्रो ठुलो जनशक्तिले काम गरिरहको छ । ती सबै देशहरुसंग हाम्रो सम्बन्ध रहन्छ भनेर प्रधानमन्त्रीज्युले स्पष्ट पारिसक्नुभएको अवस्था छ । त्यसैले भारतसंगको सम्बन्ध हाम्रो अर्को छिमेकी र चीनसंगको सम्बन्ध हाम्रा प्राथमिकतामा पर्दछन् । हामीले प्राथमिकताका साथ हामीले यो सम्बन्धलाई समधुर र सद्भावपूर्ण राखेर हामीले आफनो विकास जनताको जीवनस्तर उठाउने कामतिर हामीहरु लाग्नुपर्दछ भन्ने मलाई लाग्छ ।

नेपाल–भारत बीच जनस्तरमा रोटी र बेटीको सम्बन्ध छ, तर सरकारको बीचमा किन सम्बन्ध राम्रो हुन सक्दैन् ?

राजनीतिक नेतृत्वमा खासगरी राजनीतिक तहमा समझदारी नभएको होईन, समझदारी छ । हामीले परराष्ट्र नीतिमा देखाउनुपर्ने, जुन प्रभावकारिता हो । जुन एउटा विश्वसनियता हो । त्यो कता कता हामीले विगतको केही समयमा दोहोरो मापदण्ड अपनाउँदा दोधारेपन देखाउँदाखेरि भन्ने एउटा अनि गर्ने अर्को कुराले गर्दा अलिकति तलमाथि भएको जस्तो देखिएको हो । अब हामी स्पष्टताका साथ अगाडि बढ्यौं भनेदेखि भारतसँग समस्या हुने म कुनै कारण देख्दिन् ।

त्यसोभए नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बीचमा केमेष्ट्री मिल्न सक्छ अब ? राजनीतिक र कुटनीतिक रुपमा अब दुई देशबीच सम्बन्ध सुमधुर रुपमा अघि बढ्छ त ?

आर्थिक र कुटनीतिक रूपमा हाम्रो बीचमा सम्बन्ध राम्रोसँग अघि बढ्नसक्छ । मैले अघिनै भनिसकेँ की हामीबीच सरकारीस्तरको मात्रै होईन, यो जनस्तरको सम्बन्ध पनि हो । यो व्यापार यो त धेरै तहमा छ नि । विद्यार्थी–विद्यार्थीको बीचमा सम्बन्ध छ । प्राध्यापक–प्राध्यापकको बीचमा सम्बन्ध छ । जनता–जनताकोबीचमा सम्बन्ध छ । हाम्रो सामाजिक–आर्थिक–राजनीतिक सबै किसिमको सम्बन्धले हामीलाई जोडेको छ । त्यसैले यो सबै तहको सम्बन्धलाई हामीले सुमधुर राखेर अगाडि बडायौँ भनेदेखि हामीले भारतसंगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेर हामीले काम गर्नुपर्छ । र, अहिलेको नेतृत्व प्रधानमन्त्रीज्युले संसद्मा यो कुरालाई स्पष्ट पारिसक्नु भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्