Logo

‘माधव नेपालको रुचि केपी भेट्नुभन्दा प्रचण्ड र देउवातिरै छ’ : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रवक्ता प्रदीप कुमार ज्ञवालीले माधव नेपालको रुचि केपी ओली भेट्नुभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भेट्नमा बढि भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ज्ञवालीले वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष दिने प्रस्ताव ११ सदस्यीय कार्यदलमा कहिले पनि प्रवेश नगरेको जिकिर गरे । उनले थपे, ‘हो,दोस्रो अध्यक्ष दिएर पनि पार्टी एकता हुन्छ भने तयार छु अध्यक्ष ओलीले भन्नुभएको हो । तर पछि माधव नेपालले मलाई पदलोलुप देखाउन र बदनाम गराउनका लागि गरिएकाले चाहिँदैन भन्नुभयो । पार्टी भनेको केटाकेटी खेल हो र रु ऋषिजी, तपाईंले प्राइम टेलिभिजन माग्दैमा मलाई दिनुहुन्छ र रु त्यसैले उहाँलाई अध्यक्ष दिन सम्भव छैन ।’

पार्टी एकताको ढोका बन्द नभए पनि एकता हुनेमा आशंका रहेको उनले बताए । उनले भने, ‘एकताको ढोका यता खुला छ, उहाँ अर्कैतिर लगेर हिँड्नुभयो । समस्या उहाँमा छ, एमाले बलियो बनाउनेभन्दा गठबन्धन बलियो बनाउने । ओलीभन्दा देउवा र प्रचण्डसँग भेट्ने आदि काम गरिरहनुभएको छ । पिठ्यूँ फर्काएर हिँडेपछि सक्किगो त ।’

पार्टी २०७५ जेठ २ मा फर्केकाले नेताहरु पुरानै जिम्मेवारीमा नफर्के पर्खिएर बस्न नसक्ने उनले बताए । उनले थपे, ‘हामीले स्थायी कमिटीका ११ जना नेताको कार्यदलमा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनयन गर्ने सहमति पनि गरेका थियौं । तर उहाँले गोल पोस्ट चेन्ज गर्दै कहिले दोस्रो अध्यक्ष, कहिले दुई जनाको हस्ताक्षर चल्ने बराबरी अध्यक्ष माग्दै जानुभयो । अब हामी त्यसमा प्रवेश गर्न सक्दैनौं ।’

बाग्मती, कर्णाली, लुम्बिनीमा जस्तो गतिविधि हुने हो भने एकता हुनु र नहुनुमा अर्थ नभएको पनि उनले बताए । उनले भने, ‘हाम्रो ध्यान जनतामा छ । माथिका नेता के गर्नुहुन्छ, त्यो उहाँहरु नै जान्नुहुन्छ । पार्टी एकताको पहल गरिरहनुभएका भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डेको भूमिका सकारात्मक छ ।’

भीम आचार्य र सुरेन्द्र पाण्डेलाई ओलीले दिल्ली नपठाएको पनि उनले बताए । वार्ताटोलीको विघटन भइसकेकाले अब एकताका ओली र माधव नेपालको भेटघाट सम्भव नदेखिएको पनि उनको भनाइ छ । उनले भने, ‘माधव नेपालको रुचि केपी भेट्नुभन्दा प्रचण्ड र देउवातिरै छ । तर देउवा र ओलीको भेट हुन्छ भने ओली र माधवको नहोला भन्न सक्दिनँ । तर त्यस्तो भेटघाटको खास अर्थ पनि छैन ।’



प्रतिक्रिया दिनुहोस्