Logo

तालिवान सत्तामा हुँदा नेपालको विगतको भोगाई र अबको चुनौती



दीपेश केसीः यो अप्रत्याशित घटना थिएन । झट्ट हेर्दा तालिवानले अफगानिस्तान एक महिनामै कब्जा गरेको देखियो । तर, यसका लागि उनीहरुले २० वर्ष कुरे । तालिवानको जग त्योभन्दा धेरै वर्ष अघि देखि बसेको हो । उनीहरुले बन्दुकको बलमा अफगानिस्तानमा पुनः सत्ता हत्याए ।

कायरतापूर्वक काबुल छाडेका अफगानी राष्ट्रपति असरफ गनीले उज्वेकस्तानबाट फेसबुकमार्फत् तालिवानलाई तरबार र बन्दुको बलमा सत्ता कब्जा गरेको बताएका छन् । उनले सही नै भने । तर, ब्यालेटको माध्यमले भनिएपनि गनी अमेरिकी आशिर्वादमा दुईपटक राष्ट्रपति भएको कटु सत्य हो । सन् २०१४ र २०१९ को चुनावमा अब्दुल्ला अब्दुल्लाले धाँधली भएको विषय उठाउँदा उठाउँदै गनी विजयी घोषित गरिए । त्यसमा पनि अमेरिकी भूमिकाले काम गरेको थियो । दुईबीच सत्ता सम्झौता गराउन अमेरिकाले मध्यस्थकर्ताको भूमिका निभायो ।

अहिले गनीले अफगानिस्तानलाई तालिवानको अन्धकारयुगमा पुग्नबाट अन्तिम समयसम्म लड्ने भन्दा ज्यान जोगाएर भाग्ने उचित ठाने । त्यसैले अब्दुल्लाले उनलाई कायर भने । अफगानिस्तानलाई अन्धकारमा धकेलेर भागेको टिप्पणी गरे । गनी २५ वर्ष अघि तालिवान काबुल पसेर डा. मोहम्मद नाजिबुल्ला जसरी मारिनुभन्दा भाग्नु उचित ठानेको हुनुपर्छ । नाजिबुल्लाले अफगानी जनतामाझ कायर भनिनुभन्दा मारिनु उचित ठानेर अवसर पाउँदा पाउँदै अन्तिम समयमा काबुल छाड्न मानेनन् । तालिवानले राष्ट्रसंघको काबुलस्थित कार्यालयबाट थुतेर क्रुरतापूर्वक हत्या गरी नाजिबुल्ला र उनका भाईको शवलाई दुई दिनसम्म ट्राफिक लाइटको पोलमा झुण्ड्याएका थिए ।

तालिवानले सन् १९९६ बाट २००१ सम्म अफगानिस्तानमा शासन गर्दा क्रुरतम गतिविधिहरु गरे । महिलाहरु बुर्काभित्र सिमित बनाइए । विद्यालय जानबाट वञ्चित गरिए । इस्लामिक कानुनभन्दै महिलामाथि यौनमा बन्देजहरु लगाउँदै उल्लंघन गर्नेलाई ढुंगाले हानेर मारे । कोर्रा लगाए । कुरानमा लेखिएको भन्दै चोरीका आरोपीहरुको हात काटिए । अमेरिकी फौजको कारण नै किन नहोस् अफगानी जनताले क्रुर शासनबाट मुक्ति पाएका थिए । तर, २० वर्षमै तालिवान फर्किए ।

कस्को साथ

तालिवान शितयुद्धताका सोभियत फौजविरुद्ध गठन भएका थिए । त्यतिबेला अफगानिस्तानमा सोभियत संघको फौज थियो । अमेरिका र सोभियत संघबीचको शक्तिसंघर्षमा अफगानिस्तान गृहयुद्धमा फसेको थियो । तालिवानले अमेरिकाबाट पाकिस्तानमार्फत् साथ पाए । तालिवानकै कारण सोभियत संघको फौज अफगानिस्तानबाट हट्यो । लगत्तै तालिवानले नियन्त्रण कायम गर्न सक्यो ।

जसरी २० वर्ष अघि सोभियत संघको फौज फर्किएपछि तालिवानले सत्ता कब्जा गरे त्यसरी नै अमेरिकी फौज फर्किएपछि तालिवानले सत्ता कब्जा गरे । इतिहासको पुनरावृत्ति भएको छ । पात्रहरु फरक भूमिकामा मात्र देखिएका छन् ।

यसपटक तालिवानले पाकिस्तानकै साथ पायो । तर, पाकिस्तान फरक शक्तिसँगको अघोषित गठबन्धनमा देखियो । विगतमा अमेरिकासँग नजिकिएर तालिवानलाई साथ दिएको पाकिस्तानले यसपटक चीनसँग नजिकिएर साथ दियो ।

तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गर्नु अघि अन्तर्राष्ट्रिय साथ पनि लिन खोजे । उनीहरुको एउटा टोली पहिले रुस अनि चीन पुग्यो । यो भ्रमण अर्थपूर्ण रह्यो । तालिवानले रुस र चीनको साथ पाएको सन्दश थियो त्यो ।

चीनका विदेशमन्त्री वाङ ईले मुल्ला अब्दुल गनी बरादारसहितको ९ सदस्यीय टोलीसँग गत महिना भेटवार्ता गरेका थिए । भेटमा तालिवानले चीनसँग सुमधुर सम्बन्ध राख्ने देखि चीनमा रहेका पृथकतावादी मुस्लिम अतिवादीलाई साथ नदिने प्रतिवद्धता जनाएका थिए ।

चिनियाँ अधिकारीहरुसँग तालिवानी नेताको भेटपछि तिव्र गतिमा अफगानिस्तानका प्रमुख शहरहरुमा नियन्त्रण बनाउन थाले । यो आफैमा अर्थपूर्ण रह्यो । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि चिनियाँ सञ्चारमाध्यमले अमेरिकाको हारको रुपमा खबरहरु दिइरहेको छ । ग्लोबल टाइम्सले त्यही शैलीमा खबर प्रकाशित गरेको छ । चीन उत्साही देखिएको छ । ग्लोबल टाइम्सले अफगानिस्तानमा चीनका लागि अनुकूल परिस्थिति बनेको भन्दै आर्थिक लगानीको सम्भावना उठाएको । बीआरआई आयोजना अगाडि बढाउने सम्भावना औल्याएको छ । चीन पूर्वाधार विकास र पुनः निर्माणमा अफगानिस्तान पस्न सक्ने लेखेको छ ।

नेपालमा असर

तालिवानले विगतमा सत्ता कब्जा गर्दा भारतको प्रभाव गुमेको थियो । पाकिस्तानसँग निकट रहेका तालिवान बलियो हुँदै गर्दा भारतसँग निकट सम्बन्ध रहेका तत्कालीन राष्ट्रपति नाजिबुल्लाको पतन भएको थियो । नाजिबुल्ला भारतमा शरण पाउने भएपछि त्यतै जान चाहन्थे । तर, उनलाई जान दिइएको थिएन । उनी सोभियत संघ र भारतसँग निकट हुनुले पनि काबुलमै अड्काएर मार्ने नियत थियो । जुन सफल भयो ।

तालिवान सत्तामा आएपछि त्यहाँका हिन्दु र शिखहरुमाथि आक्रमण हुनथाल्यो । सँसारको सबैभन्दा ठूलो बुद्धको मूर्ति बम हानेर ध्वस्त पारिदिए । गैरमुस्लिममाथि निरन्तर आक्रमण भयो । तालिवान यसपटक पनि सक्रिय हुँदै गर्दा शिखको गुरुद्वारामा आक्रमण भएको थियो । भारतीय नागरिक अफगानिस्तानमा तारोमा पर्न थालिसकेका थिए ।

अफगानिस्तानमा तालिवान शासन हुँदा २४ डिसेम्बर सन् १९९९ मा काठमाडौंबाट इन्डियन एयरलाइन्सको यात्रुवाहक विमान अपहरण भयो । अमृतसर, लाहोर, दुबईमा अवतरण गर्दै अपहरणकारीले विमानलाई अफगानिस्तानको कान्दाहार पुर्याएका थिए । कान्दाहार तालिवानको नियन्त्रणमा थियो । भारतीय कमान्डो हमला गरी अपहरणकारीबाट विमानलाई मुक्त गर्न खोजेको थियो । तर, तालिवानले त्यो सम्भव हुन दिएनन् ।

भारतले अपहरणकारीसँग सम्झौता गरेको थियो । आतंकवादी गतिविधिको अभियोगमा भारतको जेलमा रहेका मुस्ताक अहमद जरगार, अहमद ओमार सइद शेख र मसुद अजरलाई छाड्न वाध्य भयो । विमान अपहरण हुँदा भारतीय गुप्तचर निकाय आइबीका प्रमुख अजित दोभाल नै थिए । अहिले उनी भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार छन् । तालिवान २० वर्ष अघि सत्तामा हुँदा पनि दोभाल शक्तिमा थिए । अहिले फेरि तालिवान शक्तिमा हुँदा पनि दोभाल नै शक्तिमा छन् ।

तालिवान अफगानिस्तानमा बलियो अवस्थामा रहँदाको सुरक्षा चुनौती नेपालले भोगेको इतिहास साक्षी छ । भारतको सुरक्षामा धावा बोल्न इस्लामिक आतंकवादीहरुले नेपाली भूमि प्रयोग गरेको विमान अपहरणको घटना रेकर्डमा छ । त्यसपछि भारतले सुरक्षा चुनौती भन्दै नेपालसँग विभिन्न सुरक्षासम्बन्धी सम्झौताका प्रस्तावहरु अगाडि सारेको थियो । अफगानिस्तानमा तालिवान हावी हुँदा भारत हुँदै नेपालले समेत सुरक्षा चुैनौतीको सामना गरेको इतिहासलाई फर्केर हेर्दा अबका दिनमा पनि चुनौती आउन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

बाह्य शक्तिको नेपालमा चासो

तालिवानले बन्दुकको बलमा सत्ता कब्जा गरेलगत्तै अफगानिस्तानमा अमेरिका र भारत दुवैले प्रभाव गुमाएका छन् । विगतमा सोभियत संघको ठाउँ अमेरिकाले लिएको थियो । भारतको ठाउँ पाकिस्तानले लियो । तालिवान सत्ताबाट हटेपछि भारतले आफ्नो प्रभाव फेरि बनाउन सक्यो । पाकिस्तान कमजोर भयो ।

अहिलेको घटनाले अफगानिस्तानमा पाकिस्तान फेरि हावी भएको छ । चीन र रुसको प्रभाव पनि बढेको छ । दक्षिण एशियाभित्र चीनको प्रभाव बढाउने रणनीति अन्र्तगत विभिन्न घटना विकास भइरहेका छन् ।

नेपालमा पनि चीनको प्रभाव बढेको छ । अफगानिस्तानमा प्रभाव गुमेको अमेरिकाले दक्षिण एशियाका अन्य मुलुकमा चासो बढाइसकेको छ । जसको असर नेपालमा देखिदैछ । भारतले पनि अफगानिस्तानमा प्रभाव गुमेपछि नेपाललगायत अन्य दक्षिण एशियाली मुलुकमा चासो दिन सक्छ । भारतले अब नेपाललाई उच्च प्राथमिकतामा राख्न सक्ने सम्भावना बढी छ । यसले नेपालको राजनीतिमा विभिन्न खाले असरहरु देखिन सक्छ ।

अफगानिस्तानमा तालिवान हावी हुनुले भारतलाई सुरक्षा खतरा बढेको महशुश भइसकेको छ । विगतमा उसले विमान अपहरणलगायत विभिन्न बम हमलाको सामना गरेको इतिहास छ । सुरक्षा चुनौतीलाई मध्यनजर गरी उसले नेपाललगायत छिमेकी देशहरुमा चासो बढाउने देखिदैछ । भारतले नेपाललाई अब विगतमा भन्दा बढी ध्यान दिने निश्चितप्रायः देखिन्छ ।

अमेरिका र चीनबीच बढ्दो शक्तिसंघर्षको असर अफगानिस्तानमा देखिइसकेको छ । त्यो असर नेपालमा पनि पर्दैछ । क्षेत्रीय शक्ति भारतसँग मिलेर अमेरिकाले दक्षिण एशियामा गतिविधि बढाउन सक्छ । यसले नेपाललगायत दक्षिण एशियाका कतिपय मुलुकहरुमा त्रीपक्षीय शक्तिसंघर्षको असरहरु देखिने निश्चित छ । नेपाल सामु विभिन्न चुनौतीहरु देखिन सक्छन् । नेपालसामु आफ्नो सामरिक महत्व, भूराजनीतिक यथार्थलाई बुझेर विश्वको नयाँ शक्तिसन्तुलन अनुरुपको कदमहरु जिम्मेवारीपूर्वक चाल्नुपर्ने चुनौतीहरु तेर्सिएका छन् ।



प्रतिक्रिया दिनुहोस्