Logo

माधव नेपाल पक्षमा ८० भन्दा बढी केन्द्रीय सदस्य पुगे



काठमाडौं, १ भदौ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान नै चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् ।

माधव नेपाल पक्षले नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जनालाई आफ्नो पक्षमा पारिसकेको दाबी गरेको छ । माधव नेपाल पक्षका एक नेताले रिपोर्टर्स नेपाललाई बताए अनुसार ८० जनाको हस्ताक्षर संकलन भइसकेको छ । हिजोसम्म ७० जना केन्द्रीय सदस्य पक्षमा रहेकोमा आज विहानसम्म १० जना थपिएको ती नेताले बताए ।

आफ्नो पक्षका केन्द्रीय सदस्य बाहेकसँग नेपाल पक्षका नेताहरुले सम्पर्क बनाइरहेका छन् ।

७० जना माधव पक्षमा अडिग बसेका केन्द्रीय सदस्य रहेको र बाँकी ५० जनासँग कुराकानी गरी पक्षमा पार्ने प्रयास चल्दै आएको थियो । ८३ जना ओली पक्षबाट टसमस नहुने खालकासँग नेपाल पक्षले सम्पर्क बनाएको छैन ।

माधव नेपाल पक्षले कम्तिमा ७० देखि ९० सम्म केन्द्रीय सदस्य संख्या बनाउने लक्ष्य राखेको छ । केन्द्रीय समितिमा १०३ भन्दा माथिको संख्या पुगेमा अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने सम्मको रणनीति अझै रहेको बुझिएको छ । तर, त्यो सम्भावना कमजोर भइसकेको छ ।

यसैगरी, माधव नेपाल पक्षको केन्द्रीय सदस्यको संख्याका आधारमा अध्यादेश आउने भएको छ । २५ वा ३० प्रतिशत केन्द्रीय समितिमा प्रतिशत बनाए पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउन खोजिएको छ । तर, जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षधरलाई पनि ध्यान दिएर अध्यादेश ल्याउने तयारी भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्