Logo

अफगानिस्तानबाट नेपालीहरुको उद्धार छिट्टै गर्छौं, तयारी भैरहेको छ : कांग्रेस नेता जोशी (भिडिओसहित)



काठमाडौं, १ भदौ । नेपाली कांग्रेसका नेता अर्जुन जोशीले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्नको लागि सरकारले आफ्नो शक्ति लगाईरहेको बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सरकारले सम्पूर्ण रुपमा आफ्नो शक्ति लगाइरहेको छ । केही नेपालीहरु अबैध रुपमा पनि गएको हुँदा सम्पर्कमा आउन गाह्रो भएको छ । अफगानिस्तानका राष्ट्रपतिले देश छाडेको अवस्था छ । बैध सरकार नभएको अवस्थामा कोसँग समन्वय गर्ने भन्ने अवस्था रहेको छ । जहाज त्यहाँ कसरी पुग्ने भन्ने छ । तर पनि दुःख पीडामा रहेका नेपालीहरुको उद्धार गर्ने सरकार गम्भिरतापुर्वक लागिरहेको छ ।’

उनले प्रतिपक्षीले पनि कसरी काम गर्ने भन्ने विषयमा आलोचना मात्र होइन सल्लाह पनि दिनुपर्ने भन्दै एमालेलाई सोहीअनुसारको भूमिका खेल्न आग्रह गरे । उनले संसद्को अधिवेशन अन्त्य भएको समयमा आवश्यकत्ताको आधारमा अध्यादेश ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै अध्यादेश ल्याउने कुराको विरोध गर्नुको औचित्य नभएको टिप्पणी गरे । उनले संसद्मा बिजनेस नभएकोले संसद अधिवेशन अन्त्य भएको जिकिर गरे ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिट्टै मन्त्रिमण्डल विस्तार हुने पनि जनाए । उनले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकार र आफ्नो पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारबीच आकाश र जमिनको फरक भएको भन्दै वर्तमान सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने पनि विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्