Logo

डा. पाण्डेको प्रश्न : ‘हचुवाको भरमा अफगानिस्तान जहाज पठाएर विमान क्याप्चर भयो भने कसले जिम्मेवारी लिन्छ ?



काठमाडौं, १ भदौ । परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले २० वर्षदेखि अमेरिकी सेनाले तालिम दिएको अफ्गान राष्ट्रिय फौज यसरी असफल होला भनेर कसैले पनि नसोचेको उल्लेख गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘२० वर्षदेखि अमेरिकाले तालीम गरेको अफगान राष्ट्रिय फौज यसरी १ महिनाभित्र फल गर्ला भनेर कसैले सोचेको थिएन । सुसज्जित हातहतियारको साथै राष्ट्रिय सेना पनि उसको हात भएको हुँदा खतरा बढेको छ ।’

उनले अफ्गानिस्तान छोड्नको लागि अमेरिकी वायुसेनाको विमानको पाङ्ग्रामा झुण्डिएको दृश्य देखिएको भन्दै अहिले नेपालबाट नेपाल वायुसेवा निगमको जहाज पठाए खतरा हुनसक्ने पनि टिप्पणी गरे । उनले भने,‘हचुवाको भरमा जहाज पठाएर विमान क्याप्चर भयो भने कसले जिम्मेवारी लिन्छ ? त्यसैले त्यँहा रहेका नेपालीहरुले काम गर्ने कम्पनीसँग समन्वय गरेर मात्र जहाज पठाउनुपर्छ ।’

उनले नेपालमा सरकार परिवर्तन भएपनि अब राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र मामिलामा एकरुपता देखिनुपर्ने धारणा राखे । उनले विदेशी नाागरिक, राहदानीबाहक, विदेशी एनजिओमा काम गर्नेलाई राष्ट्रपति, उपराष्ट्रपति र मन्त्रीहरु बनाएपछि के हालत हुने रहेछ भन्ने कुराको उदाहरण अफगानिस्तान बनेको पनि सुनाए ।

ठुला मेजर पावरसँग अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति मिलाउन नसक्दा अफगानिस्तान आज यो अवस्थामा पुगेको उनको दाबी छ । उनले भने,‘त्यो त्रुटी नेपालले गर्नुहुँदैन् ।’ सिरीया, लिबिया, इराक, अफगानिस्तानजस्ता युद्ध भइरहेका मुलुकमा नेपालीहरुलाई जान प्रतिबन्ध गर्नुपर्ने पनि उनको भनाई छ ।

पाण्डेले अहिले परराष्ट्र मामिलामा विभिन्न संरचनागत समस्या रहेको उल्लेख गर्दै ती समाधान गर्दै परराष्ट्र मामलामा सरकार गम्भीर हुनुपर्ने पनि धारणा राखे । उनले भने,‘अन्तराष्ट्रिय सम्बन्धमा सबै राजनीतिक दलका नेताहरुले बोलीमा एकरुपता ल्याउनुपर्छ । खाली सरकारको बिरोध गरेर मात्र पानीमाथिको ओभानो हुनुहुँदैन ।’

उनले तालिवानले सोभियत संघ र संयुक्त अमेरिकालाई पराजित गरेकोले अहिले उनीहरुमा घमण्ड बढेको पनि सुनाए । उनले भने,‘अझ एक्सपोट गर्नपर्छ यो आइडोलोजी भनेर कश्मिर र सिन्ज्याङतिर लागे भने नेपाल अर्को अफगानिस्तान हुन्छ । त्यसैले सुरक्षामा संवेदनशील हुनपर्छ ।’

नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले र सार्क जिवित छ भनेर देखाउनको लागि पनि नेपाल सरकारले अफगानिस्तान घट्नाबारे चासो देखाउनुपर्ने बताए । उनले भने,‘हरेक राजनीतिक अभ्यासबाट असफल हुनु, सत्ताको लुछाचुँडी र भ्रष्टाचारमा डुब्नु नै अफगानिस्ताको गल्ती हो । त्यसबाट नेपालका नेताले पाठ सिक्नुपर्छ ।’ छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध बनाउन नसके नेपाल पनि अफगानिस्तानको बाटोबाट युगोस्लाभिया पुग्ने उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्