Logo

‘माधव नेपाल कार्यकर्तामा जाँदा जिरोमा परिणत हुन्छन्, देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम भैरहन्छ’ : शेरबहादुर तामाङ



काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाएका छन् । उनले भने,‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमाले विभाजन गर्नको लागि ल्याईएको अध्यादेश भन्दै यसलाई एमालेका आम नेता तथा कार्यकर्ताले अस्विकार गर्ने बताए । उनले भने,‘अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान छैन् । कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन् । खोप आपूर्ति भएको छैन् । संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला । तर, त्योसम्बन्धी सरकारको कुनै ध्यान छैन् । जम्माजम्मी यो सरकारको काम भनेको एमाले विभाजन गर्ने काममात्रै भयो । हाम्रै साथीहरु पनि हिसाबकिताब गरेर २० प्रतिशत भए त पार्टी फुटाउन संख्या पुग्छ होला भनेर लाग्नुभयो । यो गलत हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गरे । उनले भने,‘देशभरिका कोही पनि कार्यकर्ता पार्टी विभाजनको पक्षमा लाग्ने छैनन् । माधवकुमार नेपाल २० प्रतिशत संख्या बोकेर जानुहुन्छ भने कोशिस पनि नपुग्ला, कार्यकर्ता र मतदातामा जाँदा उहाँहरु जिरोमा परिणत हुनुहुनेछ । कोही पनि टुटफुट र विभाजनको पक्षमा नलागौं ।’

उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ईतिहास नै टुटफुटको रहेको सुनाए । उनले भने,‘उहाँले २०५८ सालमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस विभाजन गर्नुभयो । सांसदरुको किनबेच गर्ने काम गर्नुभयो । संसदीय व्यवस्थालाई बद्नाम गर्नुभयो । देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम हुनेछ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो भने लोकतन्त्रको विरोधमा लाग्नेलाई के भन्नुहुन्छ ? हिजो केपी ओलीले रक्षा गरेन भने आरोप लगाए होला । तर, यही नेकपा एमालेले संविधानको रक्षा गर्छ ।’

उनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सरकारले जतिसक्दो चाँडो उद्धार गर्नुपर्ने पनि माग गरेका छन् । उनले भने,‘नेपालीहरुलाई अफगानिस्तानबाट तदारुकता देखाओस । हिजो ओली सरकारले आफ्नो ध्वजावाहक जहाज पठाएर नेपालीहरुलाई उद्धार गरेको थियो । कोही पनि नेपाली जनताको त्यहाँ ज्यान नजाओस । नेपाल सरकारको तर्फबाट छिटोभन्दा छिटो उद्धार गरियोस । प्लेन पठाओस ।’



प्रतिक्रिया दिनुहोस्