Logo

यही हप्ताभित्रै सरकारले पूर्णता पाउँछ, अध्यादेश ल्याउनु अनुचित होईन : रामकृष्ण यादव



काठमाडौं, १ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण यादवले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधानसम्मत् रहेकोले यसमा कसैको पनि विरोध नरहने स्पष्ट पारेका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको कुरा सुनें । संविधानमा र प्रजातन्त्रमा, संसद् नभएको बेलामा अध्यादेशमार्फत महत्वपूर्ण काम गरिन्छ । अध्यादेश ल्याउनु संविधासम्मत् छ । विभिन्न दलमा अहिले असन्तुष्टि जाहेर भएको छ, यस्तो अवस्थामा प्रजातान्त्रिक अनुरुप यो अध्यादेश ल्याईएको हो । यो अनुचित पनि छैन् ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने पनि जानकारी दिए । उनले भने,‘मन्त्रिपरिषद् विस्तार यही हप्ताभित्रै हुन्छ । यसको लागि अहिले व्यापक रुपमा छलफल भैरहेको छ । गठबन्धनका नेताहरुसँग प्रधानमन्त्री देउवाले निरन्तर छलफल गरिरहनुभएको छ । मलाई लाग्छ, यो हप्ताभित्र सरकारले पूर्णता पाउँछ ।’

त्यस्तै, उनले अफगानिस्तामा फसेका नेपालीहरुलाई तत्काल उद्धार गरिने कार्यको पनि थालनी भैसकेको जनाए । उनले भने,‘अफगानिस्तामा रहेका नेपालीहरु भयभित भएका छन् । नेपाल सरकारले कुटनीतिक पहलबाट, दूतावासको माध्यमबाट उद्धार पनि गरेको छ । अहिले त्यहाँ भएकाहरुलाई फेरि ल्याउँछ । अविलम्ब नेपाल सरकारले नेपाली नागरिकहरुलाई उद्धार गर्छ । सरकार नेपालीहरुको उद्धारको लागि अहिले सक्रियतापूर्वक लागेको छ । मलाई विश्वास छ, यो सरकारले आफ्ना नागरिकलाई उद्धार गरिछाड्छ ।’



प्रतिक्रिया दिनुहोस्