Logo

बोरा उद्योगको उत्पादन ८० प्रतिशत मात्र



काठमाडौं, भदौ २। कोरोना महामारीका कारण कच्चा पदार्थको अभावका भएसँगै उत्पादन घटेको बोरा उद्योगको उत्पादन हालसम्म पनि करीब ८० प्रतिशत मात्र रहेको उद्योगीहरूले बताएका छन् । अहिले कच्चा पदार्थको अभाव नरहे पनि दक्ष कामदारको अभाव र बजारमा खपत घट्नुजस्ता कारणले उद्योगहरूले आफ्नो क्षमताअनुसार उत्पादन गर्न नसकेका हुन् ।

नेपालमा प्लाष्टिक, जुट र कपडाका बोरा तथा त्रिपाल उत्पादन गर्ने दुइ दर्जन जति उद्योगहरू छन् । ती उद्योगले नेपालभरि रहेका सम्पूर्ण खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्छन् । दक्ष कामदारको अभावका कारण ती उद्योगहरू ८० प्रतिशत क्षमतामा मात्र चल्न बाध्य भएको विराटनगरको पशुपति सिल प्याक उद्योगका प्रोप्राइटर सुदीप जैसवालले आर्थिक अभियान दैनिकलाई बताए ।

उनका अनुसार यस्ता उद्योगहरूमा काम गर्ने धेरैजसो श्रमिकहरू भारतबाट नेपाल आउने गर्छन् । महामारीका कारण श्रमिकहरूमा त्रास छाएकाले अधिकांश भारतीय र नेपाली श्रमिकहरू समेत काममा पर्किएका छैनन् जसले गर्दा उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।

त्यसैगरी बोरा र त्रिपालको खपत घट्दा उद्योगहरूलाई झनै समस्या भइरहेको बताइएको छ । शिवम् प्लास्टिक उद्योगका सञ्चालक निखिल तोदीका अनुसार खाद्यान्नदेखि सिमेन्ट उद्योगहरू समेत पूर्ण क्षमतामा नचलेर उत्पाादन घटेका कारण बोरा र त्रिपालको खपत घटेको हो । नेपालमा मात्र नभएर भारतीय बजारमा समेत बोराको खपत घट्दा विक्री घटेर करीब ५० प्रतिशतको हाराहारीमा रहेको उनले बताए ।

नेपाली बोरा उद्योगहरूले मासिक वार्षिक रूपमा करीब ६० हजार मेट्रिकटन बोरा उत्पादन गर्ने गर्छन् । त्यसमध्ये ४० प्रतिशत बोरा नेपालको आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ६० प्रतिशत बोरा भारत, बंगलादेश, पाकिस्तान, भुटानलगायत अन्य देशहरूमा निर्यात हुने गर्छ । उत्पादन र खपत दुवै घटेपछि अहिले यी उद्योगहरूको निर्यात बजार पनि अस्तव्यस्त जस्तै बनेको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्