Logo

सात महिनामा ६१ हजार विदेशी आए



काठमाडौं, भदौ २ । कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा असर परेको छ। गत मार्च, अप्रिलमा केही संख्यामा विदेशी नेपाल भित्रिए पनि त्यसपछिका महिनामा आगमन निकै घटेको छ। अझै केही समय विदेशी पाहुना नेपाल आउने अवस्था व्यवसायीले देखेका छैनन्।

पर्यटन बोर्डका अनुसार सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये सबैभन्दा बढी अप्रिलमा २२ हजार ४५० जना आएका थिए। जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, मेमा १४ सय ६८, जुनमा ११ सय ४३ र जुलाईमा २९ सय ९१ जना विदेशी नेपाल आएका छन्।

पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेका अनुसार पर्यटन आगमनमा सुधारको संकेत देखिएको थियो। तर कोरोनाको तेस्रो लहरको हल्लाले गर्दा आएनन्। ‘पर्यटनमा सुधार देखिन थालेको त थियो। बीचमा केही समय आगमन पनि बढ्दै गएको हो, तर अहिले फेरि घट्न थालेको छ,’ लामिछानेले भने, ‘कोरोनाको तेस्रो लहरको डरले गर्दा पर्यटक आउन हच्किएका छन् ।’

उनका अनुसार नेपाल आउन चाहेका विदेशी पाहुनाको सोधपुछ भने बढिरहेको छ। तर नेपालमा असोजदेखि कोरोनाको तेस्रो लहर आउने हल्ला चलेपछि विदेशीले तत्काल आउने योजना बनाउन सकेका छैनन्। पर्यटकको सिजन सुरु हुने बेलामै तेस्रो लहरको हल्ला चलेपछि विदेशी स्वतः पर्ख र हेरको अवस्थामा रहेको उनले बताए। ‘संख्यात्मक हिसाबले खासै सुधार भइसकेको छैन। तर पनि पर्यटकमा नेपाल आउने चाहना भने छ,’ उनले भने, ‘संक्रमण रहिरहेकोले पनि त्रास छाउनु स्वभाविक हो ।’ पहिलेभन्दा अहिले हवाई उडान केही खुलिसके पनि सीमित उडानका कारण हवाई यात्रा महँगो पर्न जाँदा पनि सहज नभएको उनले बताए।

पर्यटन व्यवसायी भने डेढ वर्षदेखि पर्यटक आगमन ठप्प जस्तै हुँदा अत्तालिन थालेका छन्। कोरोना संक्रमणले गर्दा सन् २०२० को मार्चदेखि एकाएक पर्यटकको आगमनमा गिरावट आउन थालेपछि व्यवसायीले नोक्सान सहन थालेका थिए। २०२० को सुरुदेखि नै आगमन घट्दै गएकोमा मार्चदेखि लगभग ठप्प रह्यो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot