Logo

पत्रकार महासङ्घ झापाको भवन बनाउन प्रदेश सरकारको सहयोग



झापा, २ भदौ । नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए ।

यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे ।महासङ्घले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताए। “महासङ्घको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उनले भने, “यसलाई महासङ्घको बेवसाइटमा राखिने छ ।”

सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई रु १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिए।

उनीहरुले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासङ्घ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिए । रासस



प्रतिक्रिया दिनुहोस्