Logo

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन



काठमाडौं, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ ।

जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछाने, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका प्रमुख प्राडा नारायणप्रसाद गौतम, सनातन धर्म महासङ्घका उपाध्यक्ष सहप्राडा माधवप्रसाद पाण्डेय र जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेल रहनुभएको निर्देशन समिति गठन गरिएको छ ।

यसैगरी जरोकिलो प्रतिष्ठानका उपाध्यक्ष डा माधवशरण उपाध्यायको संयोजकत्वमा सबै संस्थाका प्रतिनिधि सदस्य रहेको कार्यकारी परिषद् गठन गरिएको जनाइएको छ । परिषद्को सदस्यसचिवमा गोविन्द घिमिरे र सदस्यहरुमा रोहिणी तिमल्सिना, सरस्वती चौलागाईं, गार्गी चौलागाइँलगायत ११ सदस्य रहेको संयोजक अधिकारीले जानकारी दिए ।

यस वर्ष नेपाल, अमेरिका र बेलायतका आठवटा संस्था मिलेर चौथो विश्व संस्कृत दिवस मनाउन लागिएको हो । समितिले श्रावण शुक्ल पूर्णिमाका दिन भदौ ६ गते विश्व संस्कृत दिवसका अवसरमा वाल्मीकि विद्यापीठमा कार्यपत्रसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।

भौतिक रुपमा २५ जना जम्मा भई गरिने कार्यक्रममा इच्छुक जति जुम प्रविधिबाट जोडिन सक्ने समिति संयोजक अधिकारीले राससलाई जानकारी दिए । कार्यक्रममा उपाध्यायले ‘संस्कृत भाषाको वर्तमान स्थिति’ र काठमाडौँ विश्वविद्यालयका सहप्राडा अजय रिसालले ‘मनोचिकित्सामा संस्कृत’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

दिवस मनाउन अमेरिकाका दुई संस्था सहृदयता इन्टरनेशनल र विश्व भूटानी हिन्दू सङ्गठन र बेलायतको नेपाली हिन्दू फोरम पनि सहभागी भएका छन् । चौथो विश्व संस्कृत दिवसको प्रमुख अतिथिका रुपमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका कुलपति प्राडा राजाराम शुक्ललाई निमन्त्रणा गरिएको छ ।

प्रतिष्ठानको नेतृत्वमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन थालिएको हो । दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट घोषणा गराई अन्तर्राष्ट्रिय मान्यता दिलाउने अभियानमा पनि प्रतिष्ठान लागेको छ । राष्ट्र सङ्घमा यससम्बन्धी प्रस्ताव नेपालले राख्नुपर्ने माग राख्दै संस्कृत क्षेत्रमा कार्यरत विश्वविद्यालय, विभाग एवं संस्थाले अभियान चलाउँदै आएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्