Logo

‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्छ’ : भाजपाका नेता डा. उपाध्याय (भिडिओसहित)



‘प्रधानमन्त्री देउवाले छिट्टै भारत भ्रमण गर्नुहुन्छ, मोदी फेरि नेपाल आउँदै हुनुहुन्छ’
‘भारतले नेपालमा नाकाबन्दी लगाएको थिएन’

काठमाडौं, २ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका प्रभावशाली नेता डा. दिनेश उपाध्यायले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने बताएका छन् । र, यसको लागि जनमतसंग्रह गरिनुपर्ने उनको भनाई छ । उनले जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको टिप्पणी गरे । राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने उनको भनाई छ । उनले हिन्दूराष्ट्र र राजसंस्था राजनीतिक विषयभन्दा अलग विषय भएको बताए । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हिन्दूराष्ट्र र राजसंस्था, यो राजनीतिभन्दा अलग विषय हो । मलाई लाग्छ, हिन्दूराष्ट्रको विषयमा नेपालमा जनतमतसंग्रह हुनुपर्छ । तर, यो नेपालको आन्तरिक मामिला हो । ’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘राजसंस्था र हिन्दूराष्ट्र यो राजनीतिभन्दा अलग विषय हो । हिन्दूराष्ट्रको विषयमा जनमतसंग्रह हुनुपर्छ । तर, यो विषय नेपालको आन्तरिक विषय हो । यसमा भारतले हस्तक्षेप गर्दैन् ।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपालको भ्रमण गर्ने पनि जनाए । यता नेपालबाट पनि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुने उनले जनाए । उनले भने,‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा फेरि पनि आउनुहुन्छ, यसअघि पनि उहाँ धेरै पटक आउनुभएको छ । मलाई लाग्छ, उहाँको फेरि नेपाल भ्रमण हुनसक्छ । पहिले पनि मोदी नेपाल आउनुभएकै हो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाजी पनि भारत भ्रमणमा जानुहुन्छ होला ।’ यद्धपी मोदीले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो दिएको वा नदिएको भन्ने आफूसँग सूचना नभएको उनको स्पष्टोक्ति थियो ।

उनले आफू भगवान पशुपतिनाथको दर्शन गर्न आएको बताए । उपाध्यायले नेपाल र भारतबीच ऐतिहासिक र बहुआयामिक सम्बन्ध रहेकोले आगामी दिनमा पनि दुई देशबीच सुमधुर सम्बन्ध हुने दाबी गरे ।

उनले भने,‘नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध छ । हामीबीच बहुआयामिक सम्बन्ध छ । धर्मकोबारेमा राजनीति हुनुहुँदैन् । भारतमा राम मन्दिरको निर्माण भैरहेको छ । राम मन्दिर सरकारको विषय होईन । राम मन्दिर आस्थाको विषय हो । भगवान पशुपतिपनि आस्था हो । नेपालमा सनातन धर्म हुनुपर्छ ।’

उनले नेपालका राजनीतिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको र नगर्ने स्पष्ट पारे । उनले भने–‘नेपाल हाम्रो सहोदर भाई हो । नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध छ । मित्रताको सम्बन्ध छ । एक अर्का देशले सल्लाह मागे दिनुपर्छ । तर, नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा कुनै असमझदारी छैन् । हस्तक्षेप गर्नुहुँदैन् । नेपाल र भारतबीच जनता जनताबीच द्धिपक्षीय सम्बन्ध राम्रो छ । सरकारले राम्रो काम गरिरहेको छ । नेपालले उन्नती र प्रगति गरोस भन्ने भारतको चाहना हो । नेपाल हिन्दूराष्ट्र होस भन्ने मेरो चाहना छ ।’

दार्चुलाका जयसिंह धामी भारतीय एसएसबीले तुईन काटिदिएको कारण बेपत्ता भएको कुरा छ, यसमा तपाईँको धारणा के हो भनेर पत्रकारले सोधेको प्रश्नमा उपाध्यायले भने–‘यसमा छानबिन हुनुपर्छ ।’ उनले भारतले नेपालमा नाकाबन्दी नलगाएको पनि दाबी गरे । उनले भने,‘त्यतिवेला म यहाँ (नेपाल) आएको थिएँ । तर, बोर्डरमा आन्दोलन थियो । नाकाबन्दी भारत सरकारले गरेको थिएन ।’

उनले नेपाल र भारतबीच खुल्ला सिमाना रहेकोले अलि–अलि समस्या हुनु स्वभाविक भएको बताए । तर, दुई देशबीचका सिमा विवाद पनि कुटनीतिक माध्यमबाट समाधान हुनुपर्ने उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबीच ठूलो सिमा छ । नेपालसँग त हाम्रो हृदयको सम्बन्ध छ ।’



प्रतिक्रिया दिनुहोस्