Logo

रामकुमारी झाँक्रीको दाबी : हाम्रो पार्टी फुट्नु र नफुट्नुमा कमरेड प्रचण्डको कुनै पनि हात हुँदैन् (भिडिओसहित)



काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइएको माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नयाँ पार्टी गठन गर्नु युगको आवश्यकत्ता भएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,”यो चाहीँ एउटा युगको आवश्यकत्ता थियो कि, किनभने नेकपा एमालेको नवौं महाधिवेशनपछि हाम्रो पार्टी जसरी चल्यो, निर्वाचनमा गयौं, मोर्चाबन्दी गर्यौं, जनताको जनमत र एउटा विश्वास प्राप्त गर्यौं, तर त्यसलाई सही ढंगले चलाउन नसक्दा पार्टीभित्र न्यूनतम लोकतान्त्रिक संस्कार र संस्कृति नहुँदा पार्टीलाई नेतृत्वले जहाँ पुर्यायो, त्यसले गर्दा वामपन्थ, लोकतान्त्रिक र कम्युनिष्ट पार्टीको आवश्यकत्ता समाजमा थियो, त्यो आवश्यकत्ता यो पार्टीले पूरा गर्छ भन्नेमा म आशावादी छु ।”

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले पार्टीलाई वामपन्थबाट रामपन्थको बाटोमा लगिएको र सांस्कृतिक रुपमा विचलनतर्फ गएकोले फुटको अवस्था आएको स्पष्ट पारिन् । उनले आफूहरुले अन्तरसंघर्ष गरेर नै अघि बढ्ने भनेर बसेको भएपनि तर पार्टीभित्र अन्तरसंघर्ष गर्ने ढोका नै बन्द गरिएकोले यो अवस्था आएको पनि जिकिर गरिन् । उनले कम्युनिष्ट आन्दोलनलाई सिध्याउने कसम केपी ओलीले खाएको पनि सुनाईन् । उनले माधव नेपाललाई स्थायी कमिटीका सदस्यहरुले साथ नदिएपनि केही फरक नपर्ने उनको आशय थियो । उनले भनिन्,”टिम त बन्दै जान्छन नि हजुर, हाम्रो जुक्ता फाटे त नयाँ किन्नुपर्छ । लागु फाटे नयाँ लुगा किन्छौं नि ।”

उनले आफूहरु अब पार्टीलाई सशक्त बनाउने अभियानमा लाग्ने पनि जानकारी दिईन् । यसको लागि नेकपा (माओवादी केन्द्र) सँग पनि एकता हुनसक्ने सम्भावना उनले सुनाईन् । उनले आफ्नो पार्टी फुट्नु र नफुट्नुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनैपनि हात नभएको पनि दाबी गरिन् । उनले भनिन्,”एमाले फुटाउने दोषी केपी शर्मा ओली हो । हामी यही पार्टीमा एकताको लागि पहल गरेका छौं । यो कुरा मैले तपाईको यही कार्यक्रममा बोलेको थिएँ । एमालेभित्र हामीलाई पस्न दिईएन भने हामी विद्रोह गर्छौं भनेको थियो ।”



प्रतिक्रिया दिनुहोस्