Logo

बामदेव अब कता ?



काठमाडौं, ३ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अझै कित्ता प्रष्ट पारेका छैनन् । माधवकुमार नेपाललाई एमाले विभाजन तयारीमा साथ दिएका गौतम बुधबार पार्टी दर्ता गर्दा निर्वाचन आयोग देखिएनन् ।

गौतमले आज आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । एकता अभियान नाम दिएर अलग समूह चलाइरहेका गौतमले आज छलफल गरी राय सुझाव संकलन गर्ने बुझिएको छ । त्यसपछि उनी कुन पार्टीमा लाग्ने वा अलग समूह बनाएर बस्ने स्पष्ट हुने निकट स्रोतले बतायो ।

बामदेव गौतमको समूहभित्र तीन धारणा देखिएको छ । एउटा पक्ष एमालेमै रहनुपर्नेमा जोड दिदै आएको छ । अर्को पक्ष माधवकुमार नेपालले गठन गरेको पार्टीमा जानुपर्ने पक्षमा छ । तेस्रो पक्ष तटस्थ बसेर एकता अभियान जारी राख्नुपर्नेमा जोड दिइरहेको छ । तर, अधिकांश गौतम पक्षधर नेताहरु केपी शर्मा ओलीसँग रहन नसकिने निष्कर्षमा रहेको बुझिएको छ ।

सबै धारणालाई बुझेर बामदेव निर्णयमा पुग्न लागेका छन् । माधव नेपालसँगै नयाँ दलमा सहभागी हुन लाग्दा उनी रोकिनुमा घनश्याम भुसाललगायत केही नेताहरु रोकिनु पनि कारण रहेको बुझिएको छ । पूर्वमालेका अधिकांश नेता कार्यकर्ता फुटको विपक्षमा उभिएपछि बामदेव पनि रोकिए ।

बामदेवले आज निकटस्थसँग परामर्श लिएर एमालेमै रहने या राजीनामा दिएर फरक ढंगले बढ्ने निर्णय लिने भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेका गौतम एमालेभित्र प्रभावशाली नेता हुन् । उनकै साथ पाएर नवौं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका थिए । तर, २०७४ को आमनिर्वाचनपछि ओलीसँग उनको सम्बन्ध बिग्रिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot