Logo

माधव नेपालको राजनीतिक भविष्य के होला ?



समाचार विश्लेषण । नेकपा एमालेको विधानको पूर्ण पालना हुन्थ्यो भने केपी शर्मा ओली, झलनाथ खनाल र बामदेव गौतम सल्लाहकार कमिटीमा सिमित हुन्थे । माधवकुमार नेपाल अबको केही महिनापछि त्यही कमिटीमा पुग्थे । तर, एमालेको पहिलो पुस्ताका यी ४ नेताको टकरावले पार्टी विभाजन भएको छ ।

ओली एमाले अध्यक्ष कायमै छन् । माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) गठन गरेका छन् । नेपाललाई झलनाथ खनालले साथ दिएका छन् । बामदेव गौतम पनि पार्टी विभाजनमा नेपाललाई सघाइरहेका थिए तर कित्ता स्पष्ट पारेका छैनन् ।

राजनीतिक जीवनको उत्तराद्र्धमा आएर माधव नेपालले एमाले फटाएका छन् । उनले यसको दोष केपी शर्मा ओलीमाथि लगाएका छन् । एमालेमा नेतृत्व विकास भइसकेको अवस्थामा यी दुईको टकरावले फुटेकोमा कुनै विवाद छैन । तर, ओली र नेपालबीचको टकरावले पार्टी फुट्दा दोस्रो पुस्ताका नेताहरु तमासे मात्र भए ।

माधव नेपालले आय राम र गए राम भन्दै साथ नदिनेको समेत बेवास्ता गरी जोखिम मोले । उनले ७० वर्ष पुग्न लाग्दा ५ दशक बिताएको पार्टी फुटाए । नेपाललाई ओलीबाट ठूलै पेलाई नभएको होइन । तर, आफूपक्षीय हस्ती नेताहरुको एमालेमै संघर्ष गरौं भन्ने सुझावलाई समेत बेवास्ता गरे । २ भदौंमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिए ।

एमाले अहिलेसम्म दुई पटक फुटेको । २०५४ सालमा महाकाली सन्धीको मुद्दामा र २०७८ सालमा शक्तिसंघर्षको मुद्दामा । २०५४ सालमा एमाले फुट्दा माधव नेपाल महासचिव थिए । बामदेव गौतमसँग उनको टकरावले एमाले फुट्यो । नेपाल त्यतिबेला संस्थापन पक्षमा थिए । उनले निकै मिहेनत गरेर एमालेलाई बलियो बनाइरहे ।

२०७८ सालमा एमाले फुट्दा माधव नेपाल संस्थापन इतर समूहमा रहेका थिए । २०५४ मा एमाले फुटाउने बामदेव गौतमविरुद्ध माधव नेपाल उभिएका थिए । उनलाई ओलीले दरिलो साथ दिएका थिए । अहिले ओलीविरुद्ध संघर्ष गर्दागर्दै माधव नेपालले पार्टी फुटाए ।

२०५४ र २०७८ को अवस्था निकै फरक छ । त्यतिबेला बामदेव गौतमसँग ४६ सांसद थिए । एमालेको ४० प्रतिशतभन्दा बढी सांसद र त्यति नै संख्याका केन्द्रीय कमिटी सदस्य लिएर गौतमले नयाँ दल बनाएका थिए । यतिबेला माधव नेपालले एमालेको नवौं महाधिवेशनपछि बनेको केन्द्रीय कमिटीमध्ये हाल रहेका २०३ मध्ये ५८ र १२१ सांसदमध्ये ३० जनालाई लिएर पार्टी विभाजन गरेका छन् । एकजना राष्ट्रिय सभाका सांसद पनि छन् । स्थायी कमिटीका झलनाथ खनाल र डा. वेदुराम भुसाल मात्र नेपालको साथमा छन् ।

माधव नेपालको साथमा लामो समययता रहेका एमाले उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा उपमहासचिव घनश्याम भुसालले साथ छाडेका छन् । सुरेन्द्र पाण्डे र रघुजी पन्त जस्ता विश्वासपात्रले पनि साथ दिएनन् । उनीहरु एमालेमै रहेका छन् ।

यो हालतमा एमाले विभाजन गरेका माधव नेपालको राजनीतिक भविष्यबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनीसँग अब संघर्ष गर्ने उमेर पनि छैन । न त संघर्षमा साथ दिने बलिया नेता कार्यकर्ताको नै साथ देखिन्छ । यसकारण माधव नेपाल निकै कमजोर समूह लिएर एमाले विभाजन गर्न पुगेका छन् । अबको चुनावमा यही टिमले सुखद परिणाम ल्याउला भन्नेमा आशंका छ । ४० प्रतिशतको एमालेको शक्ति लिएर माले बनाएका बामदेव गौतम २०५६ सालको चुनावमा सुन्य सिटमा सिमित भएको इतिहास साक्षी छ । ३० प्रतिशत केन्द्रीय सदस्य र २५ प्रतिशत सांसद लिएर एमाले विभाजन गरेका माधव नेपालको हालत के होला ?

तत्काललाई माधव नेपाल पार्टीलाई सरकारमा सहभागी गराई शक्तिशाली बन्लान् । विगतमा नेकपा मालेले पनि त्यस्तै गरेको थियो । तर, चुनावमा सजिलो हुनेछैन । हुन त संसदीय राजनीति राम्ररी बुझेका नेपालले ओलीलाई केन्द्र र प्रदेश गरी ठाउँ ठाउँमा पछारेका छन् । त्यसका लागि उनलाई शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बलियो साथ मिलेको छ । चुनाव अघिसम्म मात्र नभई चुनावमा पनि त्यो साथ मिलेमा माधव नेपालले सहकार्यबाट राम्रो सिट जित्नसक्ने सम्भावना रहन्छ । तर, फुटेको पार्टी र नयाँ चिन्हमा मतदाताको विश्वास र मतपत्रमा छाप लगाउन हात गइहाल्दैन भन्ने विगतले देखाइसकेको छ ।

आगामी चुनावमा माधव नेपालले एक्लै चुनाव लडेमा सजिलो छैन । उनले प्रचण्डलगायत वा प्रचण्डको दल माओवादीसँग मात्र सहकार्य गरेर चुनाव लडेमा भने राम्रो नतिजा ल्याउन सक्छन् । प्रचण्डसँग पार्टी एकता गरेर जाने सम्भावना पनि हुनसक्छ । त्यसको संकेत उनले गरिसकेका छन् । यसरी जाँदा पनि माधव नेपाल प्रचण्ड जति बलियो हुने देखिदैन । यसकारण माधव नेपाललाई अबको राजनीतिक निकै कठिन छ । उनले नेता कार्यकर्तालाई पार्टी छाड्नबाट जोगाउन मुश्किल पर्न सक्छ । चुनावमा प्रतिष्ठा जोगाउन उत्तिकै चुनौती छ ।

इतिहास र वर्तमानलाई केलाउँदा माधव नेपाललाई अबको राजनीतिक सजिलो छैन । उनको निधारमा पार्टी विभाजनको दाग लागेको छ । आफ्नैले साथ छाडेको अवस्था छ । यसकारण आगामी चुनावमा माधव नेपालले केपी शर्मा ओली र नेकपा एमालेलाई क्षति पुर्याउन सक्छन् । तर आफै मजबुत बनेर आउने सम्भावना कमजोर छ । उनको राजनीतिक भविष्य नै संकटमा परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot