Logo

इराकी कवि दुन्य मिखाइलका सात कविता



भित्तामाथि डिजिटल नक्साले

अमेरिकी युद्धलाई देखाउँछ रङ्गहरूमा

इराक बैजनीले

सिरिया पहेँलोले

कुवैत निलोले

अफगानिस्तान रातोले

भियतनाम हरियोले

युद्ध

नक्सामा

सुन्दर देखिन्छ ।

कागजको मेरो नाउ खोलामा बग्यो

एउटा संसारलाई आफ्नो पछाडि बोक्दै

त्यसमा एउटा विशेष नोट थियो

त्यो एक दिन पुग्नेछ

ढिलै भए पनि,

सारा सत्यहरू ढिलै पुग्छन्

कछुवा झैँ

म हरेक ठाउँमा पुग्छु

आफ्नो घर पिठ्यूँमा उचाल्दै ।

जब चन्द्रमा पूर्ण हुन्छ

त्यो एउटा शून्य झैँ देखिन्छ

जीवन गोलो छ

आखिरीमा ।

पृथ्वी साह्रै सरल छ

तिमीले त्यसलाई

एउटा आँसु या हाँसोले बुझाउन सक्छौ

पृथ्वी यति जटिल छ

तिमीलाई एउटा आँसु या हाँसो अपुग हुनेछ

त्यसलाई बुझाउनलाई ।

हामी विचलित हुँदैनौँ

जब घाँस मर्छ

हामीलाई थाहा छ-

त्यो फेरि आउने छ

यस पटक वा अर्को मौसममा

मृतकहरू फर्केर आउँदैनन्

तर उनीहरू सधैँ प्रकट हुन्छन्

घाँसको हरियोपनमा ।

सबै बच्चाहरू कवि हुन्छन्

जबसम्म उनीहरू नभएका पुतलीहरू समात्ने

बानीलाई त्याग्दैनन् ।

अनुवादः चन्द्र गुरुङ



प्रतिक्रिया दिनुहोस्