Logo

साथीकी स्वास्नी



 

उसको र मेरो भेट एउटा वार्षिक व्यावसायिक सम्मेलनमा भएको थियो । निकै पहिलेको कुरो हो यो ।

त्यो सम्मेलनमा मैले आफ्नो शोध प्रस्तुत गरिसकेर बाहिर यसो टहलिंदै गर्दा उसले मेरो नजिकै आएर अंग्रेजीमा भन्यो, “तपाईंको प्रस्तुति र विषय निकै रोचक लाग्यो। मलाई पनि त्यस विषयमा चाख छ, तर खास ज्ञान छैन ।”

“धन्यवाद !”,  मैले पनि अंग्रेजीमा नै भनेँ ।

त्यो सम्मेलन टेक्ससको स्यानएन्टोनियोमा भैराखेको थियो।

“म रमेश त्रिपाठी”, मैले दाहिने हात ऊतिर बढाउँदै भनेँ ।

“म, प्रवीण बस्नेत”,  उसले मसँग हात मिलाउँदै भन्यो ।

“ए, तपाईं त नेपाली पो हो कि क्या हो” भन्दै मैले यसपाली चैं नेपालीमै सोधेँ ।

उसले हाँस्तै ‘हो’ भन्यो । अनि थप्यो, “मैले त तपाईंलाई इण्डियन होला भन्ठानेको थिएँ ।”

प्रवीण जर्मनीको फ्राइबर्ग सहरको विश्वविद्यालयमा पढाउँदो रहेछ । मैले आफूचाहिँ ओहायोको एउटा विश्वविद्यालयमा पढाउने कुरा बताएँ । म अमेरिका पढ्न आएर त्यहीं अड्किए जस्तै ऊ पनि जर्मनीमा पढ्न भनेर गएको, उतै अड्किएको रहेछ ।

त्यो अन्तर्राष्ट्रिय सम्मेलनको अवधि एक हप्ताको थियो । संसारभरीबाट मानिस त्यसमा भाग लिन आएका थिए । सहभागीहरू सम्मेलन स्थल नजिकैका केही होटेलहरूमा बसेका थिए । सम्मेलन हुने ठाउँसम्म आउन र जान मिनी-बसहरूको व्यवस्था गरिएको थियो । तर कतिले भने सहरको रमझम हेर्दै हिंडेरै आउने जाने पनि गर्दथे ।

प्रवीण र म पनि संयोगवश एउटै होटलमा परेछौँ । उसको कोठा मेरो भन्दा दुई तलामाथि थियो । होटलबाट सम्मेलन स्थलमा हामी बिहान प्रायजसो सँगै जान्थ्यौँ, तर बेलुका होटलमा फर्कंदा भने बेग्ला बेग्लै जस्तो हुन्थ्यो । सम्मेलनको अवधि भित्र एक दिन शनिबार पनि परेको थियो । इच्छुक सहभागीहरूलाई आयोजकको तर्फबाट बसमा सहर घुमाउने कार्यक्रम थियो । प्रवीण र म पनि बसमा घुम्न गयौं, सँग सँगैको सिटमा बसेर ।

“हाम्रो नेपालमा पनि कहिले यस्तो होला ?” प्रवीण झ्यालबाट बाहिर हेर्दै एक्लै बर्बराए जसरी बोल्यो । म चुपचाप बाहिर हेरिराखेको थिएँ । नेपालको बारेमा हामीले धेरैपल्ट धेरै कुरा गरिसकेका थियौं, र खास नयाँ थप्नुपर्ने कुरा केहि थिएनन् ।

त्यो सात दिन भित्र हामी पुरानै साथी जस्तो भई सकेका थियौं । एक अर्काको बारेमा निकै जानकारी लिई सकेका थियौं ।

“रमेशजी, तपाईंका कति छोराछोरी छन् ?” एक बिहान चिया खाँदै गर्दा प्रवीणले सोध्यो ।

“दुईटी छोरी छन्”, मैले भनेँ । अनि तुरुन्तै थपें, “ठूली चैं साइकोलोजीमा मास्टर्स गर्दै छे, कान्छीले पोहोर सालदेखि कलेज शुरू गरी । ”

“अनि, तपाईंका नि ?” मैले सोधेँ ।

“एउटा छोरो, एउटी छोरी”, उसले भन्यो । उसको छोराले भर्खरै कम्प्युटर साइन्समा मास्टर्स पूरा गरेको रहेछ र छोरी स्कूलमा अन्तिम वर्षमा रहिछे । “छोरा र छोरीको बीचमा अलिकति ग्याप छ”, उसले मुस्कुराउँदै भन्यो ।

बात मार्दा बेला-बेला प्रवीण सरलाको कुरो ल्याउँथ्यो, जस्तो सरला र ऊ कतै खान जाँदा भएका रमाइला वा अनौठा घटना । यसबाट मलाई उसको श्रीमतीको नाम सरला हो भन्ने कुरो अन्दाज लगाउन गाह्रो भएन । उसले पनि मेरी श्रीमतीको नाम अस्मिता हो भन्ने लख काट्यो होला ।

“तपाईंहरू फ्राइबर्ग घुम्न आउनुस् न,” एक दिन प्रवीणले यसै भन्यो । “हामी दुई परिवार पेरिस घुम्न जाउँला । आइफल टावर चढौंला । टावर माथिबाट पूरा पेरिस सहर देखिन्छ । त्यहाँबाट संसारका ठूला-ठूला सहर कति कति किलोमिटर टाढा छन् भनेर लेखेको छ र कुन दिशातिर पर्छन् भनेर बाणको टुप्पोको चित्र कोरेर जनाइएको छ । काठमाण्डौको नाम पनि त्यहाँ छ । अथवा स्विट्जरल्यान्ड घुम्न जाउँला । स्विट्जरल्यान्ड त त्यहाँबाट एकदमै नजिक छ”, उसले साह्रै लोभलाग्ने गरी भन्यो ।

म चुपचाप लागेर अनि चाख मानेर सुनिराखेको थिएँ । फेरि उसले थप्यो, “पेरिसमा लूभ्र पनि जाऔंला मोनालिसाको पेन्टिङ हेर्न ।”

“भैहाल्छ नि,” मैले भनेँ । मोनालिसाको तस्वीरको बारेमा सानैदेखि धेरै सुनेको थिएँ तर त्यो आफ्नै आँखैले हेर्न सकिने बारेमा कहिल्यै पनि सोचेको थिइनँ । अहिले प्रवीणको कुराले मोनालिसाको चित्र आफ्नै आँखाले हेर्न सकिने सम्भावनाले मलाई रमाइलो लाग्यो ।

“के फ्राइबर्गबाट पेरिस नजिकै छ ?” मैले उसलाई सोधेँ ।

“नजिकै छ । फ्राइबर्ग नजिकै फ्रान्स र स्विट्जरल्यान्डको सिमानैमा एउटा एअरपोर्ट छ । त्याहाँबाट त्यस्तै पैंतालिस मिनेट वा एक घन्टा जति उडेपछि पेरिस पुगिन्छ । त्यो एअरपोर्ट पनि गज्जबको छ, एकातिरको ढोकाबाट निस्के फ्रान्स, अर्कोबाट निस्के स्विट्जरल्याण्ड  । ”

मलाई पनि त्यो सुनेर अलिक कौतूहल जागेर आयो, अनि भनेँ, “हो र !”

मेरो उत्सुकता देखेर ऊ अझ हौसियो, “नजिकैको स्विस सहर बाजल पनि घुम्न जाउँला ।”

“यसो सुन्दा त तपाईंकोमा अहिले नै जाउँ-जाउँ जस्तो भैसक्यो”, मैले अलिअलि हाँस्तै भनेँ ।

“होईन, भाउजूलाई पनि लिएर आउनुपर्छ”, उसले पनि हाँस्तै भन्यो । अनि अलिक गम्भीर भएर थप्यो, “ए, साँची यात्रालाई अझ अविस्मरणीय बनाउन कम्तीमा पनि आउँदा वा फर्कंदा लन्डनदेखि पेरिससम्मको यात्रा चैं समुद्रको मुनि-मुनि गुड्ने रेलमा चढेर गर्ने व्यवस्था मिलाउनु होला ।”

मैले जर्मनीका सहरहरू बर्लिन, म्यूनिख, हमबर्ग, डुसेलडर्फ आदिको नाम त सुनेको थिएँ, तर फ्राइबर्गको नाम पहिले कहिल्यै सुनेको थिइनँ ।

प्रवीणले भन्यो, “फ्राइबर्ग एउटा सानो चिटिक्क परेको सहर हो । यो सहरको मुख्य सडकको किनारमा सानो कुलो जस्तो छ र त्यहाँ निरन्तर तुरतुर गरेर पानी बगिराख्छ । यो त्यो सहरको विशेषतामा पर्छ । नजिकैको ब्ल्याक फरेस्ट पनि हेर्न जाउँला । त्यो पनि फ्राइबर्ग आउने पर्यटकको गन्तव्यमध्येको एक हो ।”

मलाई पनि के भनौँ के भनौँ जस्तो भयो, अनि भन्न थालेँ, “तपाईंहरू पनि ओहायो आउनु पर्छ । हामी बसेको ठाउँलाई क्लिभल्याण्ड भन्छन् । त्यो एउटा अजंगको तालको छेउमा पर्ने हुनाले कसै कसैले त अमेरिकाको उत्तरी तट पनि भन्छन् । तालको पारिपट्टी क्यानडा पर्छ । त्यहाँबाट नायाग्रा फल्स नजिकै छ, घुम्न जाउँला ।”

“ए, नायग्रा फल्स त्यतै हो,  मैले खुबै नाम सुनेको छु”, प्रवीणको बोलीमा उत्सुकता प्रष्टै झल्किन्थ्यो ।

“हो, नायग्रा फल्स क्यानडापट्टीबाट झन रमाइलो देखिन्छ । बरू एक रात क्यानडापट्टी नै बास बसौंला र भोलि पल्ट टोरन्टो सहर अनि क्यानडाको राजधानी ऑटवा पनि घुमेर आउँला ।”

सम्मेलन सकिंदा हामी निकै घनिष्ट मित्र भैसकेका थियौं । हाम्रो विषय समग्रमा एउटै भए पनि विशेषज्ञता भने अलिक भिन्न थियो । साझा रुचिको कुनै विशेष विषयबस्तु फेला परेसँगै अनुसधान गर्ने समेत कुरा गर्यौं । अझ नेपाललाई मिल्ने वा नेपाल सम्बन्धी कुनै प्रोजेक्टमा काम गर्न पाए नेपाल जाने बहाना पनि मिल्ने थियो भन्दै यसमा अरू सोच विचार गर्ने कुरा गर्यौं ।

छुट्टिनु अघि आ-आफ्नो टेलिफोन नम्बर र इमेल साटासाट गर्यौं, र निरन्तर सम्पर्कमा रहिरहने निधो गर्यौं ।

प्रवीण फर्केर जर्मनी गयो, म ओहायो आएँ । हामी प्रत्येक हप्ता जसो शनिवार वा कहिलेकाहीं आइतवार पारेर कुरा गर्न थाल्यौं । कहिलेकाहीँ मैले फोन गर्दा प्रवीणको फोन उठेन भने त्यसै राखिदिन्थें, अनि पछि फेरि फोन गर्थें । फेरि कहिलेकाहीँ ऊ बाहिर निस्केको बेला पर्यो तर सरला भाउजू घरमै भए भाउजूले फोन उठाउनुहुन्थ्यो अनि एकछिनको भलाकुसारीपछि ‘म प्रवीण आएपछि भन्दिन्छु नि’ भनेर मसँग विदा माग्दै फोन राखिदिने गर्नुहुन्थ्यो । प्रवीण आएपछि उसले मेरो फोन फर्काउँथ्यो र फेरि उसैगरी चल्थ्यो हाम्रो गफको सिलसिला ।

सरला भाउजूसँग कुरा गर्न सजिलो महसुस हन्थ्यो । सानोसानो कुरामा हाँस्नुहुन्थ्यो । नाम अनुसारकै सरल र मिष्टभाषी हुनुहुन्थ्यो । शुरुमा एक अर्काको बारेमा थाहा पाए पनि अस्मिता र सरला भाउजूको बीचमा प्रत्यक्ष चिनारी भैसकेको थिएनँ । उहाँहरुको पहिलो फोन सम्पर्क म अझै सम्झन्छु ।

एक दिन मैले प्रवीणलाई फोन गरेको बेला  घरमा फेला परेन । सरला भाउजूसँग भलाकुसारी भयो । म एउटा सानो कामका लागि बाहिर जानु थियो, प्रवीणसँग कुरा गरेर जानु पर्ला भन्ने सोचेर फोन गरेको थिएँ तर उसलाई नभेटेपछि पहिले त्यो काम सकेर आउँछु, अनि पछि फोन गर्छु भन्ने सोचेर, ‘म प्रवीणलाई पछि फोन गर्छु, तर अहिलेलाई अस्मितासँग चिनारी गरौं न  है’ भन्दै मैले फोन अस्मितालाई दिएँ ।

एकछिनपछि बाहिर जानका लागि ढोकातिर के लागेको थिएँ, फोनमा सरला भाउजूलाई एकछिन है भन्दै फोन नसमातेको हातको हत्केलाले फोनमा आवाज जाने ठाउँलाई छोप्तै मतिर हेरेर अस्मिताले ‘आउँदा दूध लिएर आउनु है’ भनिन् । मैले ‘हुन्छ’ को भावमा टाउको हल्लाएँ र ढोका खोलेर बाहिर गएँ अनि बाहिरबाट ढोका बन्द गरेँ ।

अस्मिता र सरला भाउजूको फोनमा निकै बेर कुरा भएछ । सरला भाउजूले पनि फ्राइबर्ग आउनुपर्छ भनेर एकदमै आत्मीयताका साथ निम्तो दिएको कुरा अस्मिताबाट थाहा पाएँ । यसरी बिस्तारै हामी दुवै थरिका श्रीमान् श्रीमती आफनै परिवारका जस्ता भयौं । फोनमा हाँसो ठट्टा रमाइलो पनि गर्थ्यौं । फोन कहिलेकाहीँ त घन्टौँसम्म पनि हुन्थ्यो ।

प्रवीण र मैले सँगै अनुसन्धान गर्ने विषय पनि फेला पार्यौं र एउटा ग्राण्ट लेख्ने कुरामा सहमति भयो । आफ्नो भागमा परेको ग्राण्ट लेखनमा प्रवीण अलिक पछि परिरहेको थियो । उसलाई हतारो लाउनु पर्यो भनेर एक दिन मैले उसलाई अफिसबाटै फोन गरें, दिउँसोको दुई बजेतिर । उसको समय त्यस्तै बेलुकाको सात-आठ बजेको हुँदो हो । मेरो फोन सरला भाउजूले उठाउनु भयो ।

“प्रवीणजी हुनुहुन्छ ?” नमस्ते आदानप्रदानपश्चात् मैले सोधेँ ।

“बाहिर जानुभएको छ, एक घन्टापछि आउनु हुन्छ ।”

“सधैँ त हप्ताको अन्त्यतिर फोन गर्नु हुन्थ्यो, यसपाला मन थाम्न सक्नुभएन कि क्या हो ?” सरला भाउजूले भन्नुभयो र हाँस्नुभयो ।

“मलाई पनि प्रवीणजीसँग कुरा गर्ने लतै लागिसक्यो, कुनै शनिवार कुरा गर्न पाइएन भने रातभर निद्रै लाग्दैन,” मैले पनि यसो अलिक ठट्टा गरे जसरी भनेँ ।

अनि गफकै सुरमा, झन् हौसिएर, सोच्दै नसोची भनेँ, “हामीमध्ये एक जना लोग्नेमान्छे र अर्को चाहिँ स्वास्नीमान्छे भएको भए त बातै लाग्ने बेला भइसक्यो ।”

सरला भाउजू एक्कासि यस्तरी खुलेर हाँस्नुभयो कि म अलिक असमञ्जसमा परेँ । त्यस्तो हाँसो मैले शायदै सुनेको हुँला । त्यो हाँसोमा एउटा खनक थियो, खोलाको निर्मल कलकल, थुप्रै बाजागाजा मिश्रित एउटा संगीतजस्तो, अचानक फूलको वर्षा भएजस्तो । एकछिन कुरा गरेर, ‘हवस् त, म प्रवीणलाई भोलि फेरि फोन गर्छु’, भन्दै फोन राखिदिएँ ।

धेरै बेरसम्म त्यो हाँसोको बारेमा सोचिरहेँ, त्यो उन्मत्त हाँसो मेरा कानमा घोलिइरह्यो । साधारणतया त्यो हाँसोलाई म एक कानले सुनेर अर्को कानबाट निकालिदिने थिएँ होला । तर, पोहोरको नयाँ वर्षको पार्टीबाट घर फर्केपछि अस्मिताले भनेको कुराले होला, त्यो हाँसो एउटा कानबाट पसेर त्यहीँ अड्किरह्यो, अर्को कानबाट निस्केर गएन । म यसको कारण खोज्न थालेँ । कतै पोहोरको नयाँ वर्षको जमघटपछि अस्मिताले घर फर्केपछि भनेको कुराले यस्तो भएको त हैन ?

पोहोरको नयाँ वर्षको पार्टीबाट फर्केर घरभित्र पस्नेवित्तिकै अस्मिताले भनेकी थिइन् , “देख्नु भो त्यो गोविन्देको चाला, आफ्नी स्वास्नीसँग झर्को र फर्को अनि अरुसँग मसक्क मस्केको ? बिहे गर्नु अघि त तिमीबिना म मर्छु भन्थ्यो होला ।”

त्यो हाँसोलाई लिएर मेरो मनमा कुरा खेलिरहे । सक्ने भए, म त्यो हाँसोलाई आफ्ना कानबाट झिकेर प्रवीणका कानमा हालिदिन्थेँ होला । उसले त्यो हाँसो कहिल्यै नसुनेको भए, सुन्न पाउने थियो । सुनेको भए, थप एकपल्ट फेरि सुन्न पाउने थियो जस्तो लाग्यो ।

अस्मिताको त्यो कुरा पछि बेलाबेला मभित्र पनि कतै ‘गोविन्दे’ लुकेर बसेको छ कि भनेर खोज्ने गर्छु र हे भगवान्, त्यसको बास म भित्र नहोस् भनेर मनमनै प्रार्थना गर्ने गर्छु ।

त्यस दिनको अफिसको काम सकेर म घर आएँ र आफैँलाई सोफामा फाले जसरी बसेऊ ।

“आज अलिक धेरै काम थियो कि, थाकेजस्तो देखिनु हुन्छ नि”, अस्मिताले सोधिन् ।

“अरू दिनभन्दा खासै बेग्लै केही थिएन”, मैले भनेँ ।

‘चिया बनाऊँ ?”

“हुन्छ ।”

एकछिनपछि अस्मिताले चिया ल्याएर दिइन् । मैले उनलाई आफूसँगै सोफामा बस्न भनेँ अनि सोधेँ, “किन मलाई मात्रै , तिमी चैं चिया नखाने ?”

“मन छैन ।”

चियाको एक-दुई चुस्की लिएपछि चियाको कपलाई बिस्तारै अस्मिताका ओठतर्फ लाँदै मैले भनेँ, “अलिकति खाऊ न, तिमीले बनाएको चिया एकदमै, सदा झैँ, मीठो छ । यसलाई जुठो पारेर अरु मीठो बनाइदेऊ न ।”

चियाको कप समाइराखेको मेरो हातमाथि अस्मिताले पनि आफ्नो हातले कप समाउँदै सुरुप्प पारेर चिया खाइन् र मतिर हेरेर मुसुक्क हाँसिन् । मैले पनि चिया एकपल्ट सुरुप्प पारेँ र चियाको कपलाई सोफा अगाडिको कफी टेबलमा राखेँ । चिया र कपले तातो भएका ओठलाई मैले अस्मिताका गालामा हलुकासँग राखें, र उनलाई बिस्तारै आफूतिर तानेँ । बुहारीझारले आफू छोइँदा खुम्चिएजस्तै अस्मिता मेरो अँगालोमा खुम्चिइन् र मसँग लपक्क टाँसिइन् । उनका शरीरका कसाबहरू खुकुलिएका मेरो शरीरले थाहा पाइसकेका थिए । मैले पनि उनलाई अझ अलिक आफूतिर तानेँ र मनमनै प्रार्थना गरेँ, “प्रवीण र सरलाले पनि एक अर्कालाई यसैगरी माया गरुन् ।”



प्रतिक्रिया दिनुहोस्