Logo

मेटमणि चौधरीको दाबी : ५ महिनापछि माधव नेपालको नेतृत्वमा बृहत्त समाजवादी पार्टी बन्छ (भिडिओसहित)



काठमाडौं, ५ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले केपी ओलीले एमालेलाई विसर्जनको बाटोमा लगेको कारण आफूहरु बाध्य भएर नयाँ दल दर्ता गर्न पुगेको स्पष्ट पारेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ध्वस्त पार्ने कसम र किरिया खाएकोले यो अवस्था आएको आरोप लगाएका छन् । ओलीको कारण एमाले विसर्जनको बाटोमा गएकोले आफूहरुले बाध्य भएर पूनर्गठन गरेको उनको भनाई छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफुहरुले एमालेको एकता र सग्लो एमालेको लागि हदैसम्मको प्रयास गरेको तर ओलीले एकता नचाहेको कारण आजको परिस्थिति उत्पन्न भएको बताए । उनले भने,‘हामीले त एकताको लागि त्याग र तपस्या गरेका हौं, तर केपी ओलीले एमालेलाई विखण्डन गरिछाड्ने कसम खाएकोले एकता सम्भव भएन । अहिले हामी पनि नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रियामा छौं । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छौं । भदौ ९ गते सनाखतको लागि आयोगले बोलाएको छ ।’ उनले आफूहरु एमालेको पूनर्गठनमा लागेर नयाँ दल खोल्नुको कारण एमाले र माओवादी मिलेर प्राप्त गरेको ४७ लाख भोट जोगाउनु रहेको पनि जिकिर गरे । उनले भने,‘हामीले नयाँ दल दर्ता नगरेको भए सबै भोट विसर्जन हुने थियो । कम्युनिष्ट आन्दोलन र पार्टी ध्वस्त हुने पोजिसनमा पुग्नेथियो ।’

चौधरीले अब केपी ओली र नेमकिपाका नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बन्ने र उक्त समाजवादी पार्टीको नेतृत्व माधव नेपालले गर्ने पनि खुलासा गरे । उनले भने,‘अब केपी ओली र नारायणमान बिजुक्छेबाहेकको बृहत्त कम्युनिष्ट पार्टी बनाउँछौं । यसमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायत सबै हुनुहुन्छ ।’ उनले आफूहरु र केपी ओलीपनि सँगै रहँदापनि नेकपा (एमाले) समाप्त हुने स्थिति रहेकोले नयाँ दल दर्ता गरेको स्पष्ट पारे ।

उनले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश संविधान र कानूनसम्मत् रहेको पनि दाबी गरे । उनले भने,‘केपी ओलीले आफू प्रधानमन्त्री हुँदा ल्याएको अध्यादेश चाहीँ पार्टी, कम्युनिष्ट आन्दोलन, संविधान र कानून समाप्त गर्न ल्याईएको थियो । तर, अहिले आएको अध्यादेशले संविधान, लोकतन्त्र र कानून बचाउने काम गरेको छ ।’

उनले आफूहरुको पार्टी देशको सबैभन्दा ठूलो पार्टी बन्ने पनि दाबी गरे । उनले भने,‘नेकपा (एकीकृत समाजवादी) पार्टी यो देशको लार्जेष्ट पार्टी बन्छ । हामीसँग यसको रोडम्याप तयार छ । चार÷महिनासम्म हामी यही पार्टीको नाममा गतिविधि गर्छौं, त्यसपछि हामी केपी ओलीबाहेक सबै कम्युनिष्ट घटकहरुलाई एकताबद्ध बनाएर लैजान्छौं । यसको अगुवाई माधव नेपालले गर्नुहुन्छ ।’ उनले आफूहरु धेरै ठूलो चूनौति र जोखिम मोलेर यो कदम चालेको भन्दै कुनैपनि हालतमा सफल भएरै छाड्ने पनि बताए ।

उनले एमालेका दोस्रो पुस्ताका नेताहरुले एकताको लागि प्रयास गरेपनि उनीहरुको प्रयास र प्रयत्न खेर जाने दाबी गरे । उनले भने,‘जोसँग ईस्यु छ, मुद्दा छ, योजना छ, त्यही पार्टी नै लार्जेष्ट पार्टी हुन्छ । हामीसँग भीजन छ ।’ उनले केपी ओलीले नेतृत्व गरेको एमाले अब सुक्ने र समाप्त हुने दाबी गरे । उनले भने,‘केपी ओलीले चालेका कदम र लिएका निर्णय कसरी सही छन् ? उहाँले गरेका निर्णय सही छन् भनेर कसले जस्टिफाई गर्न सक्छ ? संसद् विघटन दुई दुई पटक गर्नुभयो । यो गलत हो नि ।’ उनले भीम रावलसहित दोस्रो पुस्तका नेताहरुले थालेको एकता अभियानको ईच्छा, उद्देश्य पवित्र भएपनि त्यो पूरा नहुने ठोकुवा गरे ।

उनले केपी ओली जिउँदो रहँदासम्म आफूमात्रै एक छत्र राज गर्ने सपना देखेको र आफ्ना गुटका मान्छेलाई मात्रै अवसर दिएको पनि सुनाए । उनले भने,‘अहिलेपनि हेर्नुहोस, उहाँले झापाका मान्छेलाई मात्रै अवसर दिनुभएको छ। केपी ओलीले कुनैपनि हालतमा एमालेलाई सग्लो राख्न दिनुहुँदैन् । केपी ओलीकै कारण पनि एमालेका दोस्रो पुस्ताका नेताहरुको पार्टी एकता गर्ने सपना पूरा हुँदैन् ।’

उनले माधव नेपालले चालेको स्टेप र लिएका निर्णयका कारण आज संविधान र संसद् बचेको दाबी गरे । उनले भने,‘यो देशलाई अस्थिरतातर्फ जान नदिनको लागि माधव नेपालले नै निर्णायक भूमिका खेल्नुभएको हो ।’ उनले निर्वाचन आयोगले दल दर्ताको सनाखत गर्ने बित्तिकै आफूहरु सरकारमा जाने पनि बताए । उनले दोस्रो पुस्ताका नेताहरु पनि आगामी बुधबारसम्म आफूहरुको कित्तामा आईसक्ने दाबी गरे । उनले भने,‘बम, गोला, बारुद पड्किएको बेला निकै थोरै मान्छे मात्रै फ्रन्टलाईनमा उभिन तयार हुन्छन्, निश्कर्षमा भन्नुपर्दा अहिले एमालेका दोस्रो पुस्ताका नेताहरु पनि ५ दिनभित्रै हामीहरुसँग आउनुहुन्छ ।’

उनले माधव नेपाललगायत आफूहरु १४ जना सांसदलाई पदमुक्त गर्ने भनेर एमालेले गरेको कारबाहीको कुनै औचित्य नभएको र कारबाही हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले संविधानमा भएको प्रावधान र सर्वोच्च अदालतको फैसलाले पनि आफूहरुलाई कारबाही हुन नसक्ने दाबी गरेका हुन् । उनले आफूहरुलाई कारबाही गर्ने क्षमता र ल्याकत एमालेसँग नभएको पनि टिप्पणी गरे । उनले भने,‘यो त कार्तिक÷मंसिरसमा पिसाब गर्दा खुट्टामा पर्दाको न्यानोमात्रै हो ।’ उनले बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गठबन्धनको तर्फबाट विश्वासको मत पाउने पनि दाबी गरे ।

 



प्रतिक्रिया दिनुहोस्