Logo

ठाकुर गैरेको दाबी : अहिले पनि एमालेमा एकता पक्षधरको नै बहुमत छ



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का एकता पक्षधर नेता ठाकुर गैरेले आफूहरु एकताको लागि अझैपनि प्रयासरत रहेको बताएका छन् । उनले एकता सम्भव भएको भन्दै यसको लागि अध्यक्ष केपी शर्मा ओलीले दुई वटा काम र माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘एमाले एकताको लागि केपी ओलीले गर्नुपर्ने जम्मा दुई वटा काम छन्, पहिलो काम माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता लिने र अर्को १० बुँदे सहमतिको अक्षरंश पालना गर्ने प्रत्याभूति आउनुपर्छ ।’

त्यस्तै उनले माधव नेपालले पनि दुई वटा काम गर्नुपर्ने बताए । उनकाअनुसार नेता नेपालले पहिलो काम निर्वाचन आयोगमा दल दर्ताको लागि दिएको निवेदन फिर्ता लिने र अर्को पार्टी एकताको लागि तयार हुने हो ।

उनले आफूहरु एकता पक्षधर ५७ जनाको हिजो र आज बसेको बैठकले पनि यही निश्कर्ष निकालेको सुनाए । उनले भने,‘अहिले पनि एमालेमा एकता पक्षधरको बलियो जनमत छ । जनताले पनि यही चाहेका छन् । लाखौं जनता एकताको पक्षमा छन् । विभाजन गर्ने र यिनीहरु गएपनि केही फरक पर्दैन भन्नेहरु त औंलामा गनिने संख्या होला । तर, एमाले एकता चाहानेहरु भने लाखौंको संख्यामा छन् ।’

राष्ट्रिय एकता, अखण्डता, सावैभौमिकताको रक्षा, संविधानको कार्यान्वयन लगायतको लागि पनि एमालेको एकता अनिवार्य भएको गैरेले सुनाए । उनले आफ्नो लागि पछिल्लो समय पीडादायी क्षण भएको सुनाए । एमालेमा विग्रह फागुन २८ गतेदेखि नै सुरु भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्