Logo

एमाले फुटको असरले संकटमा प्रदेश १ सरकार



विराटनगर, भदौ ६ । नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।

नेकपा एमाले औपचारिक रुपमा फुट्ने निश्चित भएसँगै प्रदेश १ को सरकारले चालु संदस अधिवेशन अन्त्य गरेको थियो । संसद बैठक सञ्चाल भइरहे यहि अधिवेशनमा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतार हतार संसद अधिवेशन अन्त्य गरेको प्रतिपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

प्रदेश १ का प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकार ढल्ने निश्चित भएकाले केहि दिन भएपनि सत्तामा रहन र फाइलहरू मिलाएर भ्रष्टाचार ढाँकछोप गर्न सरकारले हतार–हतार प्रदेश सभा अधिवेशन अन्त्य गरेको बताएका छन् । उनले प्रदेश १ मा दशैं अघि नै नयाँ सरकार गठन हुने ठोकुवा गरेका छन् । उनले भने, ‘शेरधन राई नेतृत्वको सरकार अब, धेरै दिन नटिक्ने निश्चित भएकाले दशैं अघि नै नयाँ सरकार गठन हुन्छ ।’

कार्कीले प्रदेश १ मा गठबन्धनकै सरकार बन्ने दाबी पनि गरे । उनले भने‘एमालेको सरकार ढलेपछि नयाँ सरकार काँग्रेससहितको गठबन्धनको बन्नेछ ।’ यता नेकपा एमालेका नेताहरू भने तत्कालै सरकार ढल्ने अवस्था नरहेको दाबी गर्छन् । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले तत्काल सरकार ढल्ने अवस्था नरहेको बताए । एमालेबाट फुटेर गएको एमाले समाजवादीमा प्रदेश १ का ५ जना सांसद पनि जाने अवस्था नरहेकाले तत्कालै प्रदेश १ को सरकार ढल्ने अवस्था नरहेको उनले बताए । तर, एमालेका ५ जनामात्रै सांसद समाजवादीतर्फ लागेमा भने वर्तमान सरकार संकटमा पर्ने उनको भनाई छ ।

राजभण्डारीले भने, ‘पार्टीमा सांसद तानातान भइरहेकाले कति सांसद कता लाग्छन् भन्ने निश्चित नभई सरकार रहन्छ वा रहँदैन भन्न सकिने अवस्था छैन ।’ यतिबेला प्रदेश १ मा धेरै सांसद आफ्नो पक्षमा पार्न एमालेका दुबै समूह सक्रिय छन् । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा एमाले समाजवादी, नेकपा माओवादी, जनता समाजवादी पार्टी एकातर्फ छ भने अर्को तर्फ नेकपा एमाले छ । प्रदेशसभामा हाल नेकपा एमालेका ५२ सांसद छन् ।

नेपाली कांग्रेसका २१, नेकपा माओवादीका १५, जनता समाजवादीका ३ जना सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन् । नेकपा एमालेका ५२ जना सांसद मध्ये १५ जना सांसद आफ्नो पक्षमा रहेको नेकपा एमाले समाजवादीका नेताहरूले बताउँदै आएका छन् । तर, नेकपा एमालेका ५ जना भन्दा बढी सांसद एमाले समाजवादीतर्फ लागे शेरधन राई नेतृत्वको सरकार ढल्ने भएकाले सरकार पक्षका नेताहरू साँसदहरूलाई आफ्नै पक्षमा राख्न तल्लीन छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्