Logo

भीम रावल ओलीसँग टिक्न नसक्नेमा माधव नेपाल ढुक्क



काठमाडौं, ६ भदौ । नेकपा एमाले विभाजन भएपनि दोस्रो तहका शक्तिशाली नेताहरुले फुटको पक्षमा लिएनन् । अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाललाई साथ दिएर संघर्ष गर्दै आएका उपाध्यक्ष भीम रावललगायत नेताहरुले पार्टी फुट्दा कठोर निर्णय लिए । उनीहरुले माधव नेपाललाई साथ दिएनन् ।

भीम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, रघुजी पन्तलगायत हस्तीहरुको नयाँ समूह बनेको छ । यो समूहमा झण्डै ४० केन्द्रीय सदस्य छन् । उनीहरुले एमालेभित्र ओलीविरुद्ध संघर्ष गर्ने सन्देश दिइसकेका छन् । एमाले एकताका लागि माधव नेपालसहित १४ सांसदमाथि कारबाही फिर्ता र १० बुँदे कार्यान्वयनको विषय उठाएका छन् ।

ओलीले शाक्यलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने अवस्था बनाएर नयाँ परिस्थिति निर्माण गरेका छन् । उनले भीम रावललगायतको समूहसँग पावर सेयरिङ गरेको चर्चा छ । तर, ओली विधान महाधिवेशनको तयारीमा छन् । यसका लागि अगाडि बढेमा फेरि एमालेभित्र शक्तिसंघर्ष हुन सक्छ ।

एमालेभित्र अहिले ओली निकै शक्तिशाली छन् । माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमसँग जुध्दै आएका उनी अब कमजोर आन्तरिक प्रतिद्वन्द्वीका कारण बलिया भएका हुन् । तर, एमालेभित्र फेरि नयाँ घटना विकास हुने देखिदैछ । ओलीविरुद्ध दोस्रो तहका हस्ती नेताहरुको मोर्चाबन्दी बन्दै गएको छ ।

भीम रावललगायतका नेताहरुले विस्तारै शक्ति बढाएर ओलीलाई चुनौती दिन सक्छन् । त्यतिबेला एमाले फेरि विभाजन नहोला भन्न सकिन्न । विधान महाधिवेशन रोक्न रावल समूह लाग्दैछ । त्यसका लागि ओली अगाडि बढेमा उनीहरु पनि एमालेबाट अलग हुन सक्छन् । तर, ओलीले आफ्नो समूहका सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुलाई सक्रिय बनाएर रावलसहितका नेताहरुलाई अड्याएर राख्ने रणनीति बनाएका छन् ।

ओलीले विगतमा जसरी नै बढ्न खोजेमा भने रावलसहितका नेताहरु विद्रोहको बाटोमा जान सक्ने बुझिएको छ । रावल समूहका एक नेताले दशैं अगावै आफूहरुले वार कि पारको अवस्था बनाएर जाने बताए । ओली ब्याक भएर मिलाएर जान खोजे एमालेमै रहेर बढ्ने नत्र विकल्प खोज्ने रणनीति बुझिएको छ ।

यसैगरी, माधवकुमार नेपाल समूह ओलीसँग भीम रावललगायत नेताहरु टिक्न नसक्नेमा ढुक्क छन् । ओलीले आफ्नो गुटबाहेक अरुलाई ठाउँ नदिने र दिएपनि लामो समय टिक्न नदिने गरेको भन्दै रावल समूह अलग्गिनेमा ढुक्क भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot