Logo

प्रदेश प्रमुख गुरुङद्वारा जनै पूर्णिमाको शुभकामना



गण्डकी, ६ भदौ: गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले रक्षाबन्धन, ऋषितर्पणी एवं जनै पूर्णिमाका अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन् । आज जारी गरेको शुभकामना सन्देशमा उहाँले हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले सम्पूर्ण प्रदेशवासी सबै दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् ।

विभिन्न समुदायले खुशीयालीस्वरुप उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको जनाउँदै प्रदेश प्रमुख गुरुङले यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको महत्व बढेको उल्लेख गरेका छन् ।

उनले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै सन्देशमा भनेका छन्, “पर्व र संस्कृतिले समुदायबीच आपसी सद्भाव कायम राख्दै सांस्कृतिक, आर्थिक र सामाजिकरूपमा एकीकृत र मजबुत बनाउन सहयोग पुग्दछ ।”

विज्ञप्तिमा कोरोना महामारीले विश्व नै प्रभावित भइरहेका बेला सबैले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्न र सबै नागरिकको इमान्दार प्रयासले मात्र कोरोनालाई जित्न सकिने उल्लेख छ ।-रासस



प्रतिक्रिया दिनुहोस्