Logo

अफगानी राष्ट्रपति गनीका भाई नै तालिवानसँग मिलेपछि…



एजेन्सी, ६ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ गनीका भाई हस्मात गनी तालिवानसँग मिलेका छन् । उनले तालिवानले सत्ता कब्जा गरेपछि त्यसलाई स्वीकार्ने भन्दै सहमतिको सरकार गठनमा जोड दिएका छन् । यसलाई अब बन्ने सहमतिको सरकारमा उनी समेत सहभागी हुनसक्ने सम्भावनाका रुपमा लिइएको छ ।

हस्मातले अफगानिस्तानको पछिल्लो परिस्थितिलाई आवश्यकता भन्दै त्यसलाई स्वीकार्ने बताए । अलजजिरासँगको अन्तवार्तामा उनले अफगानी जनताका लागि अहिलेको नयाँ व्यवस्थालाई आवश्यकता भनेका हुन् ।

गनीले उद्दोगीव्यवसायी देश छाड्न चाहने हजारौं व्यक्तिहरुको साथ जान नसक्ने प्रतिक्रिया दिएका छन् । उनले परिस्थितिसँग सम्झौता गर्दै अगाडि बढ्ने सन्देश दिएका छन् ।

हस्मात गनीले तालिवान नेताहरुसँग केही दिनयता वार्ता गर्दै आएका छन् । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछिको परिस्थितिलाई स्वीकार्दै अगाडि बढ्ने बताइसकेका छन् ।

को हुन् हस्मात गनी

अफगानिस्तानका राष्ट्रपति असरफ गनीका भाई हस्मात गनी व्यवसायी हुन् । उनको अफगानिस्तानमा ठूलो लगानी छ । घरजग्गा कारोबार छ । यातायात कम्पनी सञ्चालन गर्दै आएका छन् । आयात निर्यातमा समेत हात हालेका छन् । उनी गनी ग्रुपका प्रमुख छन् ।

अफगानिस्तानको घुमन्ते कोची समुदायका मुख्य सरदार पनि हुन् । ६० वर्षीय हस्मातको हजुरबाबु किङमेकर थिए । उनले २०औं शताब्दीको सुरुमा अफगानिस्तानका अन्तिम राजा जाहिर साहका बाबु मोहम्मद नादिर साहलाई सत्तामा ल्याएका थिए । जाहिर साहको शासनमा मन्त्री समेत भएका थिए । यातायातमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

अफगानिस्तानमा राजतन्त्रको पतन भएपछि जाहिर साहले देश छाडे । गनी परिवार पनि निर्वासित भयो ।

उनले आफू कुनै हालतमा अफगानिस्तान नछाड्ने स्पष्ट पारेका छन् । आफ्नो जरा अफगानिस्तानमै गाडिएको भन्दै जनतालाई आवश्यकता पर्दा नछाड्ने भनेका छन् ।

असरफ गनीले देश छाड्ने चालेको कदमको बचाऊ गरेका छन् । गनीले देश नछाडेको भए मारिनसक्ने भन्दै त्यसले झन् खतरनाक परिस्थिति ल्याउन सक्ने औल्याए ।



प्रतिक्रिया दिनुहोस्