Logo

कम्युनिस्ट एकता फेरि सम्भव छ ?



काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ ।

दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा माओवादी टुक्रा टुक्रा भइसकेको छ । प्रचण्ड नेतृत्वको माओवादी अझै तेस्रो ठूलो दलका रुपमा शक्तिमा छ । फुटेकाहरु कमजोर हालतमा छन् ।

कम्युनिस्ट पार्टी फुटमाथि फुट भोगिरहँदा केही नेताहरु एकीकृत पार्टी बनाउने सपना देखिरहेका छन् । बामदेव गौतमले एकता अभियान नै चलाएका छन् । उनले नेकपा विभाजन हुँदा पनि एकता अभियान चलाएका थिए । एमाले विभाजन हुँदा पनि अभियान छाडेका छैनन् । केपी शर्मा ओली र माधवकुमार नेपाल कसैको पक्षमा नभएर तटस्थ भूमिकामा रहेको सन्देश दिइरहेका छन् ।

अहिले एमाले प्रतिनिधि सभामा पहिलो दल भएकाले केपी शर्मा ओली सबैभन्दा बलियो देखिन्छन् । त्यसपछि माओवादी अध्यक्ष प्रचण्ड बलियो छन् । तेस्रो बलियो माधवकुमार नेपाल छन् । तर, सत्तामा भएकाले प्रचण्ड विगतमा भन्दा शक्तिशाली देखिएका छन् ।

२०७९ सालमा आमनिर्वाचन हुने भएकाले कम्युनिस्टहरु फुटेरै चुनावमा जान्छन् या जुटेर जान्छन् चासोको विषय छ । २०७४ को आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावमा जाँदा बहुमत हासिल गर्न सफल भएका थिए । गठबन्धनमा जनमोर्चा नेपाल पनि सहभागी थियो ।

कम्युनिस्टहरु एकजुट हुँदा चुनावमा उल्लेख्य सफलता हासिल गरेका थिए । जो मिलेर चुनाव लडेका थिए उनीहरु तीन टुक्रा भएका छन् । यही अवस्थामा आमनिर्वाचनमा जाने हो भने बहुमत ल्याएका कम्युनिस्टहरु नराम्रो हार व्यहोर्ने निश्चितप्रायः छ ।

२०५४ सालमा नेकपा एमाले फुट्दा २०५६ को आमनिर्वाचनमा ठूलो असर परेको थियो । नेकपा एमालेले २०५१ को चुनवमा भन्दा कम सिट जितेको थियो । एमालेबाट फुटेको नेकपा माले सुन्य सिटमा सिमित भएको थियो । इतिहासको यो अनुभवलाई भोगेका कम्युनिस्ट नेताहरु एमाले एक बनाउने र माओवादीसँग पनि कम्तिमा चुनावी गठबन्धन कायम गर्ने गरी अहिले देखि नै अभियानमा छन् ।

एमालेका दोस्रो पुस्ताका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेताहरु एमाले एक बनाउन अहिले देखि नै सक्रिय छन् । उनीहरुले ओली र नेपालमाथि दबाब बढाइरहेका छन् । तर, व्यक्तिगत टकरावका कारण नेताहरु मिलिहाल्ने सम्भावना क्षीण छ । उनीहरु सामु चुनावसम्म बलियो बनेर जान नेताहरुलाई मिलाउने या हटाउनेबाहेक विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot