Logo

‘अब राष्ट्रपतिमाथि महाभियोग लगाएर म अर्को गल्ती गर्न चाहँदिन्’ : वामदेव गौतम



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले आफू राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउने पक्षमा नभएको पनि गौतमको भनाई छ । उनले भने,‘केपी ओलीसँग मिलेर विद्याजीलाई राष्ट्रपति बनाउने कुरामा मेरो पनि भूमिका थियो, तर त्यो मेरो गल्ती थियो । अब राष्ट्रपतिमाथि महाभियोग लगाएर अर्को गल्ती म गर्न चाहँदिन् ।’

आज राति ७ः५० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले यस्तो बताएका हुन् । उनले केपी ओलीको सरकारको कार्यकालमा राष्ट्रपति भण्डारीले सही भूमिका निर्वाह गर्न नसकेको कुरा यथार्थ र सत्य भएको सुनाए । उनले भने,‘अहिले शेरबहादुर देउवाको सरकार आउँदा उहाँको भूमिका सन्तोषजनक छ, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्दा पनि उहाँले अध्ययन र प्रक्रियामा गएर मात्रै जारी गर्नुभयो । जबकी केपी ओलीको पालामा भने उहाँले तुरुन्तै जारी गर्नुभएको थियो । म राष्ट्रपतिमाथि महाअभियोग लगाउने पक्षमा छैन् ।’

आफू माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने घोषणा गरेका छन् । कुराकानीको क्रममा उनले भनेका छन्,‘केपी ओलीको जालझेल, षड्यनत्र, दम्भ र अहमताको कारणले नेकपा (एमाले) फुट्यो, अब म केपी ओलीको नेतृत्वको एमालेमा रहन सक्दिन् । उहाँले कम्युनिष्ट आन्दोलनलाई बचाउन सक्नुहुन्न ।’ उनले आफू माधव नेपालको पार्टीमा जाने तयारी भैसकेको र निर्वाचन आयोगले दल दर्ताको लागि सनाखत गर्नेबित्तिकै प्रवेश गर्ने पनि जनाए ।

उनले भनेका छन्,‘माधवजीको पार्टीलाई निर्वाचन आयोगले सनाखत गरेर नयाँ दलको मान्यता दिएपछि एमाले छोडेर माधव नेपालको पार्टीमा जान्छु, म मात्रै होईन एमाले एकता अभियानमा रहेका २ हजार नेता तथा कार्यकर्ताहरु माधव नेपालको पार्टीमा प्रवेश गराउँछु । हामी सबै प्रवेश गर्छौं ।’

माधव नेपालको पार्टीमा गएपनि आफू सरकारमा भने नजाने दाबी गरे । उनले भनेका छन्,‘म कुनैपनि हालतमा मन्त्री बन्दिन् । शेरबहादुर देउवाको नेतृत्वमा रहेको अहिलेको सरकारमा म उपप्रधानमन्त्री र मन्त्री बन्दैछु भनेर समाचार आएका छन्, यसमा कुनै सत्यता छैन् । म कुनैपनि हालतमा मन्त्री बन्दिन् ।’

उनले माधव नेपालको पार्टीमा प्रवेश गरेपछि आफूले पार्टी एकताको लागि जिम्मेवारी लिने पनि जानकारी दिएका छन् । उनले भनेका छन्,‘हामी आउने चुनावमा एमाले र माओवादीसँग चुनावी गठबन्धन गर्छौं ।’ उनले नेकपा (माओवादी केन्द्र) सँग एकता हुनै नसक्ने ठोकुवा गरे । उनले भने,‘हामी प्रचण्डजीको पार्टीसँग गठबन्धनसम्म गर्र्छौं, एकीकरण गर्दैनौं ।’ गौतमले आगामी निर्वाचनमा केपी ओली, प्रचण्ड र माधव नेपालबीच चुनावी कार्यगत एकता हुने बताए ।



प्रतिक्रिया दिनुहोस्