Logo

रिपोर्टर्स क्लबमा यसवर्ष पनि मनाईयो गाईजात्रा, हाँस्यकलाकारहरुले गरे नेतादेखि कर्मचारीमाथि हमला (कसले के भने ?)



काठमाडौं, ७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् ।

हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरुलक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफुले २०३७ सालदेखि गाईजात्रामा सहभागी भैरहेको स्मरण गराए । उनले प्रताप मल्ल्ले रानीको पुत्र वियोगमा रानीलाई खुशी बनाउने उद्देश्यले गाईजात्रा स्थापना भएको भन्दै गाइजात्राको इतिहासको बारेमा प्रकाश पारेका थिए ।

उनले देशको ३ जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको भन्दै तिखो व्यङग्य प्रस्तुत गरेका थिए । उनले ब्यङग्यमार्फत आइएनजीओले गरेका कामहरुको पनि चर्चा गर्नपनि भ्याए । सिम्खडाले नेताहरु अदालतको प्राङ्गणमा रोइ कराएको प्रति तिखो झटारो हाने ।

उनले नेपाली जनता नेताहरुको खेलौना कतिसम्म हुने भन्दै प्रश्न गरेका थिए । एक घन्टाकोे भाषण र मासु भातमा नेपाली जनता बिकेकोमा आक्रोस पोख्दै व्यङग्य कसेका थिए । उनले ‘सोझा जनता सधै धुरुधुरु…’ शीर्षकको कवितामार्फत व्यङग्य प्रहार गरेका थिए ।

उनले मानिसहरुलाई स्वार्थीको संज्ञा दिँदै भने,‘जनावर मारेर खाने जनता र जनता मारेर खाने नेता उस्तै हुन् ।’ उनले पत्रकार ऋषि धमला र आफु एउटै जिल्लावासी भएको र विद्यालय पढ्दाका रमाइला कहानी स्मरण गराएका थिए । प्रेमिकाहरुले ऋषि धमलाको बारेमा के सोच्छन् होला भन्दै उनले भने,‘मुख छुराजस्तो नाक लिपियाधुराजस्तो ।’

उनले आउने वर्षमा पत्रकारसहित ३० जना जति हास्ने दर्शकहरुलाई पनि राख्न धमलालाई आग्रह गरे । ‘जसले घरमा श्रीमतीलाई चिप्लो पारेर बोल्छ त्यसको बाहीर पक्का प्रेमिका हुन्छ ।’–उनले भने । बिग्रीएको मान्छे भन्दा सप्रेको बाँदर सहि हुने उनले जिकिर गरे ।

हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो…’ गीत प्रस्तुत गरेका थिए । उनले समस्या पुरानै छन् तन्त्र र मन्त्र नयाँ भन्दै ‘बाँदरको हातमा नरिवल’ शीर्षकमा सरकारप्रति ब्यङग्य गरेका थिए । उनले कोरोना भाइरसबाट कसरी जोगिने विषयमा नेवार समुदायमा बोलिने शैलीलाई अपनाएर सन्देशमुलक क्यारिकेचर समेत गरेका थिए । उनले क्यारिकेचरमार्फत भाइरसबाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए । उनले जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्न पनि आग्रह गरे ।

केसीले पत्रकार धमलाले ऋषि धमलाले टेलिभिजनमा अन्तर्वार्ता लिँदा ४ हात खुट्टा फालेर लिने आफ्नै शैली राम्रो भएको भन्दै आफ्नै स्टाइललाई निरन्तरता दिनसमेत आग्रह गरे । उनले पत्रकार धमलाले आफ्नी श्रीमती एलिजा गौतमलाई पनि राम्रो कलाकार बनाएको प्रंशसा गर्र्दै भने, ‘तपाईले अहिले गरिरहेको कर्मलाई यसैगरि निरन्तरता दिँदै जानुस् ।’

त्यस्तै, कार्यक्रममा बोल्दै अर्का कलाकार लक्ष्मण गाम्नागेले ‘मलाई उस्तै उस्तै लाग्न थालेको छ’ कवितामार्फत सरकारप्रति झटारो हानेका थिए । उनले नेपालमा पछिल्लो समयको राजनीति घट्नाप्रति तिखो ब्यङग्य गरेका थिए । उनको कवितामा देशको भाव बोलेको थियो ।

हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताए । उनले एमाले पार्टी फुटेको र देउवालाई फाइदा भएको भन्दै गीत प्रस्तुत गरेका थिए । नेताहरुलाई व्यंग्य गर्दै उनले प्यारोडी गीत पनि गाएका थिए । दमनले ‘ऋषि धमलाको नाकजत्रै मन पनि ठुलो’ भएको बताए ।

यसैगरी, साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकिकृत हुनुपर्छ भन्दै कविता वाचन गरेका थिए । रिजालले अफगानिस्तानका जनतालाई छाडेर भाग्ने राष्ट्रपति घानी लगायतलाई व्यंग्य गर्दै ‘हामीलाई चाहिएको छ’ भन्दै अर्को कवितामार्फत तिखो झटारो हानेका थिए । उनले ऋषि धमलाले सारा दर्शकलाई टेलिभिजन वा अन्य कुनै मिडियामार्फत ‘गरमलाई ठण्डा र ठन्डालाई गरम’ बनाउने गरेको पनि उल्लेख गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै कलाकार श्रीकृष्ण सिंम्खडाले प्रधानमन्त्री शेरबहादुर देउवाको कोभिडविरुद्धको खोपको प्रसंगमा क्यारीकेचर गर्दै हास्यव्यंग्य सुरु गरेका थिए । उनले एमसीसीको बारेमा पनि झटारो हानेका थिए । उनले केपी शर्मा ओलीको क्यारिकेचर गर्दै बालुवाटार छाडेर बालकोट जाँदाको कुरा कोट्याएका थिए । उनले ऋषि धमलालाई नेपालकै आइडोलोजी भएको पत्रकारको रुपमा चित्रण गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि क्यारीकेचर गर्दै ब्यङग्य कसेका थिए । सिंम्खडाले ‘मेरो देशमा गणतन्त्र छ, त्यही भएर म दैनिक २५ रुपैयाँको पिसाब फेरेर घर फर्कन्छु’ कवितासमेत वाचन गर्दै गणतन्त्रप्रति व्यंग्य गरेका थिए ।

गाइजात्रा बिशेषमा हाँस्यकलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनितिक घट्नाक्रमको बारेमा व्यंग्य गरे । उनले अन्तर्वार्ता लिन बोलाउने तर प्रश्न सोध्दा रिसाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङग्य गरे । उनले बाबुरामलाई ट्विटरमा धेरै गाली खाने भन्दै जति गाली खाएपनि ट्विट गर्न नछाडेको गहिरो ब्यङग्य गरे ।

राजारामले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’लाई कलौटेको संज्ञा दिए । उनले नेपालका नेताहरुले ३ सय ६५ दिन नै कमेडी गर्ने बताए । वास्तविक कलाकारले कहिलेकाही मात्र हसाउने उनको भनाई थियो ।

देशमा हाल रामराज्य भएको जिकिर गर्दै उनले ‘दाईंमा मियो मात्र नभएको मात्रै हो’ भन्दै कविता वाचन गरेका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्यारोडीमार्फत प्रस्तुत गरेका थिए । उनले जनताहरुलाई भेडाको संज्ञा दिँदै नेताहरुको ‘रक्सी र मासुमा बिक्ने’ भन्दै झटारो हानेका थिए ।

उनले पत्रकार ऋषि धमलालाई पनि छोडेनन् । पत्रकार धमलाले अन्तर्वार्तामा २ नेतालाई बोलाएर झगडा गराएर पछि ती झगडा गर्ने नेतालाई चुप लाग्न लगाउने गरेको भन्दै प्रंशसा गरे । उनले धमलालाई नेपाललाई सुधार्न ‘जनता जान्न चाहान्छन् होइन अब नेता जान्न चाहान्छन् कि चाहादैनन्’ भन्ने कार्यक्रम चलाउन पनि आग्रह गरे ।

त्यस्तै, गाईजात्रा विशेष साक्षात्कारमा खड्क बहादुर पुन (खबपु)ले अन्य पेशाका सबै संगठित भएपनि हाँस्यकलाकारहरु अहिलेसम्म संगठित हुन नसकेको धारणा राखे । उनले गाइजात्राको दिन सम्पुर्ण कलाकारहरुको दिन भन्न पाएमा खुशी हुने बताए । उनले भोगाईबाट नै साहित्य र हास्यव्यंग्य जन्मने उनको भनाई थियो । पत्रकारहरुले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुःखेको उनको गुनासो थियो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्