Logo

विमला र अजयका कारण लुम्बिनीमा लफडा



काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेश सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुर्य चिन्हबाट चुनाव लडेर प्रदेश सभा सांसद भएका विमला वली र अजय शाहीले लुम्बिनी प्रदेश सभामा नाम दर्ता गर्दा नेकपा एमाले नलेखेको कारण देखाउँदै सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त नगरेपछि त्यहाँ लफडा चलिरहेको छ ।

एमाले सांसदहरुले वली र शाहीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान कसेका छन् । उनीहरु दुवैजनाले कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन साथ दिएका थिए । एमालेको सांसदले फरक दलकालाई पार्टी नीति र निर्णय विपरित साथ दिएर मुख्यमन्त्री बनाएको भन्दै पदमुक्त गर्न पत्र नै लुम्बिनी प्रदेश सभामा पुगेको छ । तर, सभामुखको तर्क थियो । विमला वली नेकपाको सांसद लेखिएको छ । अजय शाही स्वतन्त्र सांसद लेखिएको छ ।

एमाले र माओवादी केन्द्र एक भई नेकपा बन्दा विमला वली दाङबाट उपचुनाव लडेर जितेकी थिइन् । उनी एमाले र माओवादी ब्युँतदा सुरुमा माओवादीमा लागिन् । पछि एमालेमा रहेको विज्ञप्ति सार्वजनिक गरिन् । त्यसको केही दिनमै माओवादीमै रहेको विज्ञप्ति जारी गरिन् ।

अजय शाही हृदय त्रिपाठीको स्वतन्त्र समूहबाट प्रदेश सभामा विजयी सांसद हुन् । तर, उनले चुनाव लड्दा सुर्य चिन्ह थियो । शाहीले अन्तिम समयमा कुलप्रसाद केसीलाई समर्थन गरेर मन्त्री समेत बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्