Logo

नेपाललाई हिन्दुराष्ट्र बनाउन पूर्व सुरक्षाकर्मी परिषद्को माग, प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र (विज्ञप्तीसहित)



काठमाडौं, ७ भदौ । नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो ।

सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएकोे बताए । उनले प्रधानमन्त्रीले आफूहरुको मागको सम्बोधन नगरे जनतासामु जाने स्पष्ट पारे । श्रेष्ठले भने,‘देशमा सनातन हिन्दुराष्ट्र कायम गरिदेउ गोली र बारुद होइन् भनेका छौ ।’

श्रेष्ठले बन्दुक बोकेर नभई आदर्श बोकेर अगाडि बढ्न लागेको जिकिर गरे । अरु राजनीतिक पार्टीले जस्तो विध्वंश नगरी शान्तिपूर्वक राष्ट्रहितको लागि आफूहरु अगाडि बढेको बताए । उनले सिमामा रक्षा गर्ने सिपाहीको क्षमता कम नजरअन्दाज गर्न नुहुने तर्क गरे । उनले भने,‘राज्यको व्यवस्थालाई छातिमा झु्न्डाएर सुरक्षा दिने र देशको रक्षा गर्ने सुरक्षाकर्मी हुन् । हामीले पार्टी खोलेर दर्ता गरेर विदेशीको भत्ता खाएर पार्टी खोेलेका छैनौं । हाम्रो माग नीतिगत हो ।’

कार्यक्रममा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको उपाध्यक्ष पुष्पाखर गौतमले स्वागत गर्दै सुरक्षाकर्मीहरुको पुर्व सुरक्षाकर्मीहरुका हकहितमा काम गरिरहेको बताए । उनले सरकारलाई माग पुरा गर्न झक्झकाउन सबैलाई आग्रह समेत गरे । उनले राष्ट्रिय हितबिपरित केही कार्य नगर्न आफुहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको सुनाए ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय अध्यक्ष केवी राउतले पुर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी दिए । उनले प्रधानमन्त्रीसमक्ष पेश गरेका १९ बुँदे मागहरु पढेर सुनाएका थिए । राउतले आफुहरु कुनैपनि पार्टीको समर्थनबिना अगाडि बढिरहेको बताए । उनले आफूहरु चितामा नपुगेसम्म सुरक्षाकर्मी भएको भन्दै माग सुनुवाई हुनेमा आशावादी रहेको बताए । अहिले गरिरहेका कामहरु फेरी पछि पत्रकारमाझ सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा बोल्दै द्धन्द्ध पीडित तथा एकल महिलाको तर्फबाट प्रतिनिधित्व गर्दै हिरामणी अधिकारीले आफुहरु पुर्व सुरक्षा परिषद्मा पनि फरक क्षमता भएको मध्येमा पर्ने बताए । उनले भने,‘राज्य सत्ताले खटाएको स्थानमा जाँदा घाइते भएका हौं । हामी पीडक होईनौं, पीडित हो । हामीले लडेर शेरबहादुर देउवा प्रधानमन्त्री हुन पाएका छन् ।’ उनले द्धन्द्ध पीडितलाई आवासको व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरे ।

नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार ईन्द्रबहादुर दाहालले द्वन्द्वमा घाइते भएका सुरक्षाकर्मीहरुको अवस्था अहिले पनि त्यस्तै भएको बताए । पीडित पूर्व सुरक्षाकर्मीहरुको हकहितको लागि आज ज्ञापनपत्र बुझाएको बताए । प्रधानमन्त्रीसमक्ष एमसीसीलाई तत्काल कार्यान्वयन नगर्न पनि आफूहरुले आग्रह गरेको उनले बताए । अहिलेका सुरक्षाकर्मीहरुलाई आफूहरुजस्तो बेवारिशे अवस्थामा नपुग्नलाई अहिलेदेखिनै सोच्न आग्रह गरे ।

पूर्व डिआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सुर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिएपनि वास्तवमा संगठित भएको नपाइएको गुनासो पोखे ।

उनले पूर्व प्रहरीको ३ वटा संगठन भएपनि सबै राजनीतिमा लिप्त भएकोले आफू पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा लागेको बताए । उनले ८ प्रतिशत प्रहरी अनुसन्धानमा खटिएको भन्दै अरु सबै गृह मन्त्रालयको ‘ल एण्ड अर्डर’ मा हिँडेको बताए । अनुसन्धान राम्रो गरेमात्र देशले न्याय पाउने उनको भनाई थियो । नेपाल प्रहरीका सकल दर्जाका कर्मचारीहरु धेरै हेपिएको र चेपिएको पनि उनको भनाई थियो । प्रहरी सेवामा कर्मचारीहरुको पछिल्लो समयमा झन् सेवा/सुविधाहरु हट्दै गएको पनि बताए । उनले पेन्सनबाट बञ्चित बनाउने कार्य अगाडि बढाएकोमा चिन्ता व्यक्त गरे ।

नेपाली सेनाका पूर्वसहायक रथी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. प्रेमसिंह बस्न्यातले पत्रकार देशको भविष्य भएको उल्लेख गरे । देशमा व्याप्त भ्रष्टाचारको सबै मिलेर अन्त्य गर्नुपर्नेमा उनको जोड थियो ।

आफूहरुले परिषद्मा सबै सुरक्षा समूहरुलाई समेटेको पनि उनले स्पष्ट पारे । उनले आफुहरुलाई राष्ट्रपतिलाई भेट्न छेकबार लगाईएको गुनासो पोखे । उनले भने,‘हामी सबैको भगिनी संस्था हो ।’ बहालवालाहरुले तलब÷भत्ता मागेको भए सहकर्मीहरु इरान र अफगानिस्तानमा नमर्ने उनको भनाई थियो । उनले बन्दुक र गोलीसँग खेल्नु चानचुने कुरा नभएको भन्दै हिजोका आपराधिक गतिविधि गर्नेहरु आज देशमा मन्त्री भएको पनि आरोप लगाए ।

सिपाही बन्न धेरैपटक परीक्षा दिनुपर्ने भन्दै नेताहरु कुन परीक्षा पास गरेर योग्य भए त भन्दै उनले प्रश्न गरे । उनले भने,‘अहिलेका प्रधानमन्त्री देउवा, प्रचण्ड, बाबुरामको टाउकोको मुल्य तोकेर तपाईँले नेताहरुको टाउको काटेर ल्याउन भन्ने, अनि अहिले हामीलाई पीडक बनाउने ?’

एमसीसी कुनै हालतमा पारित गर्न नहुने उनको भनाई छ । बस्न्यातले भने,‘नेपालमा एमसीसी ल्याइयो भने नेताहरुलाई कालो मोसो लगाएर सडकमा ल्याउनुपर्छ ।’ सबै धर्मलाई सम्मान गर्ने बताउँदै उनले धर्मजस्तो पवित्र संस्थाले राजनीति गर्न नहुने धारणा राखे ।

उनले स्थानिय तहदेखि राष्ट्रियसभा समेतमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी न्युनतम १० प्रतिशत पुर्व सुरक्षाकर्मीहरुलाई नियुक्ति गर्नुपर्ने पुर्व सुरक्षाकर्मी परिषद नेपालका केन्द्रिय सदस्य हेमशंकर गिरीले बताए । उनले द्वन्द्वको समयमा वीरगति प्राप्त तथा अशक्त पीडित सुरक्षाकर्मीहरुलाई पीडक करार गरिएकोमा त्यो नगरी पीडित करार गरिनुपर्ने प्रधानमन्त्रीसमक्ष माग राखेको जानकारी दिए । पुर्णचन्द्र थापाले १६ वर्षमा पेन्सन दिने कार्यलाई आँखामा छारो हालेको उनको भनाई थियो ।

भारतीय सुरक्षा निकायमा कार्यरत निबृत्त सुरक्षाकर्मी तथा तीनका आश्रित परिवारको नाम, थर, वतन, बहुविवाह आदि विविध पक्षमा भए/गरेका अवरोध, वाधा, व्यवधानको समस्या समाधान गर्न नेपालले भारत सरकारसँग कुटनीतिक तवरबाट समाधान गर्न, नेपालमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिएमा मुलुक ठुलो बिद्रोहको आँधीबेहरीमा फस्नसक्ने भएकोले हतारमा कार्यान्वयन नगर्न आग्रह, लोकसेवा आयोगबाट सुरक्षा निकायहरु लगायत राज्यका हरेक निकायहरुको कर्मचारीह नियुक्त गर्दा सुरक्षाकर्मीहरुको आश्रित परिवारहरुलाई १० प्रतिशत आरक्षण कोटा व्यवस्था गरिनुपर्ने, १६ वर्षमा नै निवृत्तिभरण लिएमा सोही मितिबाट पेन्सन पाउने व्यवस्था गरिनुपर्ने, सुरक्षाकर्मीको आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्नुपर्ने, पायक पर्ने स्थान विशेषमा भएका अन्य बैंकहरुबाट समेत निवृत्वभरण रकम भुक्तानी गर्नै वैकल्पिक व्यवस्था हुनुपर्ने, पृथ्वीनारायण शाहको जन्मजयन्तीमा राष्ट्रिय एकता दिवस राष्ट्रिय रुपमा मनाउने व्यवस्था गरिनुपर्ने र बैदिक सनातन धर्मसापेक्ष राष्ट्र हुनुका साथै सबै धर्मको सम्मान गर्दै हिन्दुराष्ट्र कायम गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्