Logo

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार



काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेका मध्यमार्गी नेताहरू संस्थापन पक्षसँग मिल्न तयार भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूको मागलाई आंशिकरूपमा सम्बोधन गर्दै १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै पार्टी विभाजनमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ नदिएका नेपाल समूहका नेताहरू पार्टीमै रहन सहमत भएका हुन् ।

यसरी पार्टीमा फर्कन तयार हुनेहरूमा नौ जना स्थायी कमिटी र केही सांसदसहित ५७ जना केन्द्रीय सदस्यहरू रहेका छन् । मध्यमार्गी नेताहरूले यसअघि पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्न र नेता नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने माग अघि सारेका थिए । अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्न सहमति जनाएपछि मध्यमार्गी नेताहरू नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने अडानबाट भने पछि हटेका छन् ।

ओली निवास बालकोटमा सोमबार अध्यक्ष ओली र मध्यमार्गी नेताहरूबीच भएको निर्णायक वार्तामा १० बुँदे कार्यान्वयनका लागि मोडालिटी तयार पार्न स्थायी कमिटी बैठक बोलाइने सहमति भएको छ । मध्यमार्गी नेता एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले मोडालिटीका विषयमा छलफल गर्न मंगलबार स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्