Logo

“एकीकृत समाजवादीमा एमालेका ३० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य सामेल हुन्छन्, ब्याक हुने कुनै सम्भावना छैन”



काठमाडौं, भदौ ८ । नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले नवगठित पार्टीमा एमालेका ३० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य सामेल हुने दाबी गरेका छन् । विगतमा भन्दा केन्द्रीय सदस्य र सांसद बढ्ने पनि उनले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता खतिवडाले भने, “हामी अहिले चन्द्रागिरीमा अन्तरक्रियात्मक कार्यक्रम गरिरहेका छौं । लामो तनावपछि शान्त ठाउँमा बसेर नयाँ पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा विचार विमर्श गरिरहेका छौं । भोलि निर्वाचन आयोगमा सनाखत हुँदा ३० प्रतिशतभन्दा माथि केन्द्रीय सदस्य पुग्नुहुन्छ । गोटागन्ती गर्दा एक-दुई जना तल-माथि हुनु बेग्लै कुरा हो ।”

नेता खतिवडाले एमालेका मध्यमार्गी नेताहरुलाई त्यसमा नगनिएको पनि स्पष्ट पारे । उनले भने, “अस्ति निर्वाचन आयोगमा गएको भन्दा बढी थपिनुभएको छ । एमालेका मध्यमार्गी नेतालाई हामीले गनेकै थिएनौं । हामीलाई के थाहा छ भने केपी ओलीसँग उहाँहरुको सहकार्य लामो हुँदैन । तर उहाँहरुको संघर्ष सफल भए हामी खुसी नै हुनेछौं । उहाँहरु त्यहाँ हुँदासम्म अन्तरविरोधको घर बनेको बन्यै हुन्छ । उहाँहरुले ओली प्रवृत्तिविरुद्ध संघर्ष नै गर्नुहुन्छ, सम्झौता गर्नुहुन्छ जस्तो लाग्दैन । केपी ओली र भीम रावल कसरी एकै ठाउँमा रहन सक्नुहुन्छ ?”

साथै उनले नेकपा (एकीकृत समाजवादी) कम्युनिस्ट पार्टीको असल प्रतिनिधि हुने तर्क गरे । पार्टीमा सिनियर नेताको कमी नहुने उनको भनाइ थियो । उनले थपे, “२०३१ को कोर्डिनेसन कमिटीका सदस्य झलनाथ खनाल, मुकुन्द न्यौपाने, माधवकुमार नेपाल हामीसँगै हुनुहुन्छ । कमरेड सीपी मैनाली अर्कै पार्टीमा हुनुहुन्छ । अमृत बोहरा पनि हिजोसम्म हामीसितै हुनुहुन्थ्यो । त्यसैले सबैजसो सिनियर नेता हामीसँगै छन् । अब ब्याक हुने या एमालेमा फर्कने कुनै सम्भावना छैन । हाम्रो प्रमुख दायित्व कम्युनिस्ट आन्दोलनलाई संगठित, व्यवस्थित र मूलप्रवाहीकरण गर्नु हो । विचार, कार्यक्रम, अनुशासनमा एकरुपता भयो भने मात्र अन्य दलसँग एकता हुन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्