Logo

बालबालिकाको खानामा अनियमितता गर्ने इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय



काठमाडौं, भदौ ८ । इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ । कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको हो । पूर्वसामाजिक मामिलामन्त्री बटुबारालाई जाकार्ता अदालतले दोषी रहेको पर्याप्त प्रमाण र आधारहरु रहेको जनाएको छ ।

अनियमितताको आशङ्का र आरोप लागेपछि स्थलगत निरीक्षण गर्दा उनले अनियमितता नै गरेको भेटेपछि गत डिसेम्बरमा पक्राउ गरिएको थियो । उनलाई जेल सजायसँगै ३५ हजार अमेरिकी डलर बराबरको जरिवाना तिराउनसमेत अदालतले आदेश दिएको छ ।

राष्ट्रपति जोको विडोडोले पनि जनताको रकमको दुरुपयोग गर्नेलाई बचाउन र समर्थन गर्न नसकिने बताएका छन्।इन्डोनेसियामा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ । धेरै राजनीतिक नेताहरु अनियमिततासम्बन्धी घटनामा मुछिने गरेका छन् ।

यसअघि अर्का मन्त्रीलाई पनि भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहरिएपछि पाँच वर्षका लागि जेल सजाय तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्