Logo

सांसद बिमला वली तस्बिरले समस्यामा, परिवारबाटै मुद्दा



बुटवल, ८ भदौ । दाङबाट उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद बिमला खत्री वली एकपछि अर्को समस्यामा परेकी छिन् । तीनपटक पार्टी फेरिसकेकी वलीलाई सांसदबाट पदमुक्त गर्न नेकपा एमालेले पत्र नै दर्ता गरेको छ । तर लुम्बिनीका सभामुखले उनको पद खारेज गर्न मानेनन् । यो विषय अदालतले निक्र्यौल गर्ने भएको छ ।

वलीको हालै एउटा तस्बिर सार्वजनिक भयो । जसमा उनी एक युवकसँग आलिङ्गलनमा थिइन् । वलीले तस्बिर सम्पादन गरी आफ्नो चरित्रहत्या गर्न खोजेको बताइन् । तर, त्यही तस्बिरका कारण उनको परिवार झस्किएको छ ।

सांसद बिमलाकुमारी वलीविरुद्ध जेठाजु अमर वलीले अदालतमा मुद्दा दायर गरेका छन् । अंस संरक्षण सम्बन्धी मुद्दा ३ भदौमा जिल्ला अदालत दाङमा दर्ता भएको छ । पति उत्तरकुमार वलीको १० फागुन २०७५ मा निधन भएपछि उनको नाममा रहेको सम्पत्ति कानून अनुसार बिमलाको नाममा गएको र त्यो रोक्का गरी नाबालक छोराहरु प्रणय वली र दिवाकर वलीका नाममा राख्न माग गर्दै दर्ता भएको मुद्दाले दाङमा चर्चा पाएको छ ।

मुद्दा दर्ता भएसँगै बिमला वलीको नाममा रहेको सम्पत्ति र बैंक खाता रोक्का भएको छ । परिवारबाटै मुद्दा परेपछि बिमला रुष्ट भएको बुझिएको छ ।

पतिको मृत्युपछि तत्कालीन नेकपाले बिमला वलीलाई टिकट दिएको थियो । उनी दाङबाट प्रदेश सभामा विजयी भएकी थिइन् । तर, उनले एमाले र माओवादी केन्द्र ब्युँतदा माओवादी रोजेकी थिइन् । पछि पुनः एमालेमा रहेको विज्ञप्ति निकालिन् । फेरि माओवादीमै रहेको विज्ञप्ति निकालिन् । उनका कारण लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेको थियो ।



प्रतिक्रिया दिनुहोस्