Logo

नयाँ सरकार गठनबारे छलफलमा तालिवानी नेता



काबुल, ८ भदौ: तालिवान समूहले त्यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिवानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ ।

अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै त्यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् । गनी बरादर तालिवानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासो पूर्णरुपमा हेरेका छन् । उता तालिवानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । तालिवानहरुको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुनसकेको छैन । यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशंका व्यक्त भइ आएको छ । यसैकारणले पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबान लागि परेका बताइएको छ ।

यतिखेर भने तालिवानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कटको व्यवस्थापन गरिरहेका बताइएको छ । बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् । उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ । अघिल्लो हप्ता अफगानिस्तानलाई तालिवानले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिवान नेता स्वदेश फर्किन थालेका छन् ।

तालिवानका कतिपय नेता कतारमा रहेका बताइएको थियो । उनीहरु पनि अहिले स्वदेश फर्किरहेका छन् । हाल तालिवानका चार संस्थापक नेता रहेका बताइएको छ र तीमध्येका एक जना बरादर रहेका र उनी गत शनिबार पहिला कान्दहार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएका बताइएको थियो । अफगानिस्तानको कान्दहार शहरमा तालिबान धेरै रहेका छन् । तालिबानले कान्दाहारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्