Logo

चन्द्रागिरी रिसोर्टमा माधव नेपालको पत्रकार सम्मेलन : केपी ओलीमाथि यसरी खनिए (भिडिओसहित)



काठमाडौं, ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुले बाध्य भएर नयाँ पार्टी गठन गरेको बताएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कहिल्यैपनि ईमानदारिताका साथ वार्ता नगरेको आरोप लगाएका छन् । तर, आफूहरुले भने ईमानदारीपूर्वक वार्ता गरेको उनको स्पष्टोक्ति थियो । उनले ओलीले आफूहरुलाई वार्ताको नाटक गरेर अलमल्याउन खोजिएको पनि स्मरण गराए ।

उनले एमालेमा केपी ओलीले आफ्नो प्रशंसा नगर्ने र उनलाई बा नभन्नेहरुलाई शत्रु र विरोधी ठानेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँले पार्टीलाई निजी कम्पनीको रुपमा ठान्न पुग्नुभयो । एमालेभित्र ठूलो समस्या खडा भयो । हामीले एमाले एकताबद्ध होला भनेका थियौं ।’ केपी ओलीले पार्टीलाई ठीक ढंगबाट चलाउन नसकेकोले समस्या उत्पन्न भएको उनले टिप्पणी गरेका छन् ।

उनले नयाँ दलको राजनीतिक दस्तावेजमाथि छलफल गर्ने उद्देश्यले आफूहरु चन्द्रागिरी रिसोर्टमा आएको पनि सुनाए । उनले भने,‘त्यही भएर हामी शान्त वातावरणमा आएका हौं । घोषणापत्रको बारेमा छलफल चलाईराखेका छौं । यसबारेमा अहिले समूहगत छलफल भएको छ । विधानबारे छलफल भैरहेको छ । नियामावलीबारे पनि छलफल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्