Logo

ओली र नेपालको दम्भ…ईतिहासले चिन्नेछ



भदौ ८, काठमाण्डौ । एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको व्यक्तिगत मनमुटावले नेपालको सबैभन्दा ठूलो दलमा विभाजनको रेखा कोरिएको छ । नेपाल अब नेकपा एकीकृत समाजवादीका नेतृत्वकर्ता बनिसकेका छन् ।

नेकपा एमालेका निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको दम्भ अनि ओलीसँग गत महाधिवेसनमा पराजित माधवकुमार नेपालको पार्टी राजनीतिमा शक्तिशाली बन्ने लालच नै एमाले फुटको प्रमुख कारण बनेको छ । पछिल्लो समय ओलीको चाहना सधैँ नेता नेपाल बीनाको एमाले बनाउने थियो । नेता नेपाल भने एमालेमा ओली बराबरको हैसियत खोज्दै थिए । सर्वोच्च अदालतले नेकपा विघटनको फैसला गर्नुभन्दा अगाडि नेता नेपाल र तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई सत्ताबाट हटाउने योजना बुनेका थिए । तर, ती दुई नेताको रणनीति बुझेका चतुर नेता ओलीले बरु नेपाल र दाहालको सहकार्य तोड्ने अनेकौँ प्रयत्न गरे ।

नेपाल र दाहालको दबाब सहनुभन्दा मुलुकलाई मध्यावधि निर्वाचनमा धकेल्नु ओलीले आफ्ना लागि हितकर देखे । तर सर्वोच्च अदालतले ओलीको संसद विघटन गर्ने निर्णयलाई दुई पटक अस्विकार ग¥यो । त्यही बीचमा अदालतले नेकपा नै खारेज गरेर नेकपा माओवादी केन्द्र र नेकपा एमाले ब्युताएपछि नेपाल र दाहाल फरक धारमा उभिन बाध्य भए । तर, पनि ती दुई बीच सहकार्यमा कमी आएन । नेपालले आफ्नै दलका अध्यक्षलाई सत्ताच्युत गराउन भूमिका खेले । संसदीय राजनीतिमा विरलै देखिने दुश्कार्य गरेका नेपालले त्यसलाई संविधान ट्रयाकमा ल्याउने प्रयासका रुपमा परिभाषित गरे । समय क्रमसँगै नेकपा एमालेमा नेता नेपाल नभए आजीवन अध्यक्ष हुन पाउने ओलीको सोच बलियो बन्दै गयो ।

पार्टीमा शक्तिशाली बन्दै गएका ओली कै कारण आफू थप कमजोर बन्ने अनुमान नेता नेपालको रह्यो । एमालेमा भविष्य नदेखेकै कारण नेपालले ओलीसँग अलग भएर अन्य दलसँगको सहकार्यलाई महत्व दिए भने ओली जसरी भएपनि नेपाललाई एमालेमा फर्कनबाट रोक्ने अभियानमा लागे । त्यही कारण दुवैले एकले अर्कालाई दोषी देखाउन कुनै कसरत बाँकी राखेनन् । दुवैको बोली क्षुद्रताको हदसम्म गिर्न थाल्यो ।

दोस्रो तहका नेताहरुले एमालेको एकता जोगाउन कुनै कसर बाँकी राखेनन् । माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुले शिर्ष नेताहरुको दम्भका कारण दिशाहिन बनेको पार्टीलाई सही मार्गमा ल्याउन एकताका लागि १० बुँदे प्रस्ताव पनि बनाए । ओलीले सहजै स्विकारेको त्यो प्रस्तावलाई माधव नेपालले भने ठाडै अस्विकार गरे । जसले गर्दा नेता नेपाल एमालेको बागडोर हातमा नआए अर्को दल गठन गर्ने मनस्थितिमा पुगे । अब कम्युनिष्ट तथा बाम एकताको सम्भावना रहे पनि नेपालले ओलीसँग भने एकता हुन नसक्ने आशय व्यक्त गरेका छन् । यसअघि नै ओलीले पनि नेपालबाहेकको एकता हुने बताएका थिए ।

लामो समयपछिको विवादले अन्ततः एमालेलाई विभाजनमा पुर्याएर अवतरण गरेको छ । तर टुटफुटको राजनीति चलिरहने नेपालमा पुनः अहिले छुट्टिएका नेताहरु एकसाथ नहोलान् भन्न सकिदैन । एमालेको अहिलेको विभाजन वास्तवमा दुई नेताको दम्भको जित र कार्यकर्ताको विश्वासको हारका रुपमा इतिहासले चिन्ने छ ।



प्रतिक्रिया दिनुहोस्