Logo

नयाँ पार्टी दर्ताका लागि आज सनाखत



काठमाडौं, भदौ ९ । निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी (लोकतान्त्रिक) पार्टी दर्ता प्रक्रियाका लागि आज सनाखत गराउने भएको छ ।

प्रस्तावित नेकपा एकीकृत (समाजवादी) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको हो भने लोकतान्त्रिक समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको हो ।

आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसदहरूलाई बुधबार ११ बजेबाट २ बजेसम्म सनाखतका लागि बोलाइएको जनाएको छ । आयोगले नयाँ दल दर्ताको प्रक्रियामा आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार दुवै दलकातर्फबाट दल दर्ताका लागि निवेदन दिँदा पक्षमा रहेर हस्ताक्षरसहित नाम बुझाएका केन्द्रीय सदस्य र सांसदलाई सनाखतमा हाजिर हुन भनेको छ ।

केन्द्रीय सदस्यहरु भौतिकरूपमै उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता भारतमा उपचार गराइरहेका छन् ।

यसैबीच नेता खनालले आयोगलाई पत्र लेख्दै दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । उनले दूतावासबाट सनाखत गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र पठाएको आयोगले जनाएको छ । पत्रमा खनालले आफूले नेकपा एमाले त्यागिसकेको र एकीकृत समाजवादीमा रहेको उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्