Logo

एमाले विभाजनको कारक माधव नेपाल हो, अब एकताको च्याप्टर क्लोज भयो: ज्ञवाली



काठमाडौं, भदौ ९ । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टी विभाजनको कारक केपी ओली नभएर माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । माधव नेपालले अपूरणीय गल्ती गरेकाले उनको पराजय अवश्यम्भावी भएको ज्ञवालीको तर्क छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै प्रवक्ता ज्ञवालीले भने, “अहिले माधव नेपाल पार्टी विभाजन गरेर हिँड्नुभएको छ । अलि अस्ति मन्त्री बन्न साथीहरु दाम्लो चुँडालेर जान्छन् भनिरहनुभएको थियो, अहिले आफ्नै साथीको विश्वास नभएर र कसैसित सम्पर्क होला भन्ने त्रासले रिसोर्टमा लगेर राख्नुभएको छ । इतिहासको कालखण्डमा उहाँको यो ठूलो र अपूरणीय गल्ती हो । त्यसैले विभाजनको कारक केपी ओली होइन, माधव नेपाल हो । जसको पराजय अवश्यम्भावी छ ।”
नेता ज्ञवालीले माधव नेपालको नयाँ पार्टीको एकमात्र उद्देश्य केपी ओलीको विरोध रहेको पनि बताए । उनले थपे, “आफ्नै पार्टीको बहुमतको सरकार गिराएर कांग्रेसको सरकार बनाउन निर्णायक भूमिका निर्वाह गर्नुभयो । अब कांग्रेससँगै सहकार्य गरेर गए भैहाल्थ्यो । किन नयाँ पार्टी खोल्ने ? व्यक्तिविशेषको आवेश र जलनले कुनै पार्टी बन्दैन र चल्दैन । अब धेरै समय कुर्नुपर्दैन । यो गन्तव्यमा पुगिने बाटो होइन ।”
उनले एमालेमा केपी ओलीको विकल्प नभएको र एकताको च्याप्टर क्लोज भएको पनि बताए । उनले भने, “हिजो माधव नेपाल पार्टी प्रमुख भएका बेला २४० मा सिटमा चुनाव लड्दा ३३ सिटमा खुम्चिएको होइन ? माधव नेपाल आफैं काठमाडौं र रौतहटमा दुई ठाउँमा हारेको होइन ? अघिल्लो निर्वाचनमा केपी ओली अध्यक्ष हुँदा ९७ सिटमा लडेर ८० सिट पाएको होइन एमालेले ? एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित कसले गरेको हो ओलीले कि माधव नेपालले  ?”
आफ्नो घरमा आगो लगाउने त्यसपछि ठूलो घर बनाउने दाबी हास्यास्पद भएको पनि उनले बताए । उनले भने, “तीनचार वर्षमा आधा दर्जन धार बदल्दै जाने बाबुराम भट्टराईजस्तो नेतासँग सहकार्य गरेर कस्तो पार्टी बन्ला ?”
पार्टी २०७५ जेठ २ को संरचनामा फर्केकाले त्यो नेकपाकै निरन्तरता भएको उनले बताए । उनले भने, “नेकपा एमाले नेकपाकै निरन्तरता हो । त्यसैले नेकपा माओवादी केन्द्रको पृष्ठभूमिका नेताहरु पनि स्थायी समिति बैठकमा सामेल हुनुभएको हो । विगतमा माधव नेपालको पक्षमा  रहेका स्थायी कमिटीका १० जना कमरेड पनि सामेल भएपछि १० बुँदे सहमति कार्यान्वयन भयो ।”
पार्टीले असोजमा विधान अधिवेशन गरी सदस्यता नवीकरण, वडा र पालिका अधिवेशन गरी मंसिरमा राष्ट्रिय महाधिवेशन निश्चित गरेको पनि उनले बताए । उनले भने, “तीन वर्ष नेकपा हुँदा पार्टी हल न चल भयो । फागुन २३ पछि अर्को अवस्था आयो । तीन वर्षको क्षतिपूर्ति हुने गरी सशक्त ढंगले प्रतिपक्षी भूमिका निर्वाह गर्छौं । पार्टी निर्माण, निर्वाचनको तयारी, विगतमा सरकारले गरेका कामको जानकारी गराउँदै जनतामा जान्छौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot