Logo

रातभर सांसद तानातान



काठमाडौं, ९ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल केन्द्रीय सदस्य र सांसद व्यवस्थापन गर्दै चन्द्रागिरी रिसोर्टमा थिए । तर, उनका विश्वासपात्रहरु उपत्यकाको तल्लो खाल्डोमै सक्रिय थिए । उनीहरु बढीभन्दा बढी सांसद तान्न दौडधूपमा थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक गरिरहँदा उनका विश्वासपात्रहरुको दौडधूप चलिरहेको छ । उनीहरु पनि पार्टी विभाजनको पक्षमा लागेका सांसदहरु तान्न सक्रिय थिए । एमाले स्थायी कमिटी बैठकले विभाजनमा लागेका फर्किए पूर्वाग्रह नगरिने र कारबाही नगरिने निर्णय समेत गरेको थियो । यो सांसद तान्ने रणनीति स्वरुप भएको थियो ।

एमाले फुटाएर दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादीमा लागेकी रामकुमारी झाँक्रीले सांसद संख्या बढेको दाबी गरेकी छिन् । माधव नेपालले विभिन्न अवसर दिने प्रस्तावसँगै केही संख्या बढाएको बुझिएको छ ।

सांसद तानातान रातभर चलेको थियो । यसका लागि माधव नेपाल चन्द्रागिरीबाटै विश्वासपात्र परिचालन गरिरहेका थिए । ओली बालकोटबाट विश्वासपात्र परिचालनमा सक्रिय रहे ।

एमालेका १२१ प्रतिनिधिसभा सदस्यमध्ये माधवकुमार नेपालले ३० जना आफ्नो पक्षमा रहेको दाबी गरेको छ । त्यो संख्या हस्ताक्षर सनाखतको समय तलमाथि हुने बुझिएको छ ।

लामो समय आफ्नो पक्षमा काम गरेका भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले साथ छाडेपछि माधव नेपाललाई धक्का लागेको छ । यसले पनि सांसदको गुट परिवर्तनमा प्रभाव परेको छ ।



प्रतिक्रिया दिनुहोस्