Logo

एमालेमा २४ वर्षमा दुई फुट, पात्र उही



काठमाडौं, ९ भदौ । नेकपा एमाले दुईपटक फुटेको छ । २०५४ सालमा र २०७८ सालमा । २४ वर्षभित्र दुईपटक फुटेको एमालेको राजनीतिको केन्द्रमा भने मुख्य पात्रहरु उही रहनु रोचक हो ।

२०५४ सालमा एमाले फुट्दा सतहको मुद्दा महाकाली सन्धी नै थियो । तर, भित्री कारण शिर्ष नेताहरुको शक्तिसंघर्ष थियो । तत्कालीन महासचिव माधवकुमार नेपाल र अर्का नेता बामदेव गौतमबीचको शक्ति संघर्षले एमाले विभाजित भएको थियो । त्यतिबेला विभाजित भई बनेको नेकपा मालेमा ४० प्रतिशतभन्दा बढी सांसद थिए ।

नेकपा एमाले फुटेर नेकपा माले बन्दा बामदेव गौतमलाई कडा चुनौती दिनेमा केपी शर्मा ओली नै थिए । ओली माधव नेपाल पक्षका हस्ती थिए । नेपालभन्दा ओली गौतमप्रति कठोर बनेका थिए ।

ठिक २४ वर्षपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । यतिबेला पनि मुख्य पात्रहरु उही नै छन् । केपी शर्मा ओली, माधवकुमार नेपाल र बामदेव गौतम नै मुख्य हुन् । अहिले ओली र नेपालबीचको टकरावले एमाले फुटेको छ । पात्र भने उही छन् । ओली, नेपाल र गौतम ।

परिस्थिति मात्र फरक भएको छ । यसपटक एमाले फुटको कारण व्यक्तिगत टकराव नै हो । विगतमा माधव नेपालको साथ रहेका केपी शर्मा ओली शक्तिमा पुगेर फरक ढंगले प्रस्तुत भए । ओली र नेपालबीच शक्ति संघर्ष चल्यो । त्यसमा बामदेव गौतम पनि सामेल भए । गौतम ओलीको विरुद्ध माधव नेपालको पक्षमा लागेका छन् ।

झलनाथ खनाल पनि माधव नेपालकै पक्षमा लागेका छन् । एमालेको पहिलो पुस्ताका भनिने नेताहरु नै एमालेको राजनीतिको पछिल्लो ३ दशकमा हावी छन् । फुटको कारण पनि यीनै पात्रहरु भए ।



प्रतिक्रिया दिनुहोस्