Logo

माधव नेपाल यही प्रतिनिधि सभाबाट चुनावी सरकारको प्रधानमन्त्री



काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाउने साहस माधवकुमार नेपालले किन गरे ? ५ दशक बिताइसकेको र आफैले लामो समय नेतृत्व गरेको दल नै फुटाउन उनी तयार हुनुमा केपी शर्मा ओलीको पेलाई मात्र कारण नभएको बुझिएको छ । उनले २०७९ सालमा सरकारकै नेतृत्व पाउने गरी भित्री सहमति भएको विश्वस्त स्रोतले बताएको छ । यसले उनलाई पार्टी विभाजनको जोखिम मोल्न हौसाएको बुझिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न बारम्बार आग्रह गरेर मनाएका नेता नेपालले भद्र राजनीतिक सहमति समेत गरेको बुझिएको छ । जस अनुसार आउँदो आमनिर्वाचन गराउँदा सरकारको नेतृत्व उनले गर्ने विषय छ । यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि साक्षी रहेको स्रोतले बतायो ।

२०७९ सालको सुरुमा हुने स्थानीय तहको चुनाव देउवा सरकारले गराउने र त्यसपछि उनले राजीनामा दिएर माधवकुमार नेपाललाई समर्थन गरेर प्रधानमन्त्री बनाउने सहमति विगतमा नै भएको छ । यसकारण आफूलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिएमा भविष्यमा बहुमत पुग्ने गरी २९ सांसदसहित माधव नेपाल ढुक्कले बसेका छन् ।

हाल प्रतिनिधि सभामा रहेका २६७ सांसद रहेकोमा बहुमतका लागि १३४ सांसद आवश्यक पर्छ । काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ गरी ११० पुग्छ । माधव नेपालको साथमा २९ प्रतिनिधि सभाका सांसद रहेकाले बहुमत पुग्छ । त्यतिबेला उपेन्द्र यादवले साथ नदिएपनि केही फरक पर्दैन ।

स्थानीय चुनावमा अनौपचारिक तालमेल गर्ने सहमति समेत देउवा र प्रचण्डसँग माधव नेपालले गरिसकेका छन् । प्रचण्डसँग औपचारिक तालमेलको कुरा पनि छ । आगामी आमनिर्वाचनमा प्रधानमन्त्री बन्ने र प्रचण्डलगायतका शक्तिसँग तालमेल गरेर चुनावमा नतिजा राम्रो ल्याउने गरी माधव नेपालले रणनीति बनाएको बुझिएको छ ।

देउवा र प्रचण्डसँगको सहमतिका कारण पनि माधव नेपाल फुटको जोखिम मोल्न तयार भए । आफूनिकटस्थ हस्तीहरु भीम रावल, सुरेन्द्र पाण्डेलगायतले साथ छाड्दा पनि माधव नेपाल कठोर निर्णयका लागि बढ्नुमा यीनै सहमति कारण भएको बुझिएको छ ।

काँग्रेस महाधिवेशनमा इतर समूहको एकताबाट अप्ठ्यारोमा परेकाले देउवा पनि भद्र सहमतिका लागि तयार भएको बुझिएको छ । रामचन्द्र पौडेल समूहले पनि प्रधानमन्त्री बन्न दबाब दिएको र पदमा पुगेर महाधिवेशन गर्दा सहज हुने भएकाले पनि देउवा अगाडि बढेको बुझिएको छ । अब भद्र सहमति अनुसार राजनीतिक अगाडि बढेमा अर्को वर्षको असारसम्ममा माधव नेपाललाई प्रधानमन्त्रीको कुर्सी मिल्न सक्छ । उनैले चुनावको घोषणा गरेर बढ्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्