Logo

संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लाग्योः केसी



काठमाडौं, भदौ १० । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशनरसिह केसीले संस्थापन पक्ष वैधानिक रुपमा पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन् । मनपरी क्रियाशील सदस्यता थपेर वा कटौती गरेर जिल्ला जिल्लामा कार्यकर्ताबीच झगडा गराउन लागेको उनको तर्क छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “एक साता अघि टुंगो लगाउनुपर्ने ८ लाख ५० लाख क्रियाशील सदस्यको नामावली १० गतेसम्म पनि सार्वजनिक भएको छैन । आज ५२ जिल्लाका सभापति २४ घन्टे रिले अनशन बस्नुपर्ने अवस्था आयो । मनपरी नाम कटौती गर्ने, थप्ने गरेकाले यसमा हिचकिचाहट भइरहेको हाम्रो गम्भीर आशंका छ । यो वैधानिक ढंगले पार्टी कब्जा गर्ने नियतले भइरहेको हाम्रो बुझाइ छ । महाधिवेशनको पहिलो प्रक्रिया क्रियाशील सदस्यको नाम टाँस, दाबी विरोध, नाम सच्चाउने समय दिनुपर्यो नि । एकैचोटि वडामा नामावली पठाएर कार्यकर्तालाई कुस्ती खेलाउने ? केन्द्रबाट टुंग्याएर वडामा जानुपर्छ भन्ने हाम्रो माग हो ।”
नेता केसीले क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएसम्म रिले अनशन जारी रहने पनि बताए । उनले भने, “महाधिवेशन हाम्रो ठूलो पर्व हो । वडा अधिवेशन बिथोल्ने नियतले हामीले अनशन र धर्ना बसेका होइनौं । हाम्रो पार्टीको लोकतान्त्रिक प्रक्रिया, विधि र विधानअनुसार हुनुपर्यो भनेका हौं । हामीले विगतमा विशेष अधिवेशन, अग्रीम महाधिवेशनका कुरा उठायौं । पार्टी नेतृत्वले सुनुवाइ गरेन । तमाम कांग्रेसजनको माग सम्बोधन नगरी कसरी महाधिवेशन हुन सक्छ ?”

उनले ३५ जिल्ला सभापतिलाई निगाह बाहेक महासमितिमा भाग लिन नपाउने स्थिति खडा गरिएको पनि बताए । उनले थपे, “निर्वाचन निर्देशिकाले महाधिवेशन प्रतिनिधिबाट मात्र उम्मेदवार हुन पाउने र क्षेत्रीय प्रतिनिधिबाट सभापति हुन पाउने दुईथरी व्यवस्था गरेको छ । महासमितिमा जिल्ला सभापतिले किन भाग लिन नपाउने ? केन्द्रीय समितिले  पटक पटक विधानका धारा फुकुवा, निलम्बन गरेको छ । केन्द्रीय समितिले चाहेको खण्डमा यसमा एकरुपता दिन सक्छ । महाधिवेशनले मात्र सच्चाउन मिल्छ भन्न मिल्दैन ।”



प्रतिक्रिया दिनुहोस्