Logo

देउवाको कारण क्रियाशील सदस्यता विधान अनुरुप वितरण हुन नसकेको नेता सिंहको आरोप



काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधि विधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन् ।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शोभाभगवतिमा आज आयोजना गरेको माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो टिप्पणी गरेका हुन् ।

उनले देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएको बताए । क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।

नेता सिंहले भने, ‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ । फाईनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ ।’ विधि प्रत्रिया अनुसार महाधिबेशन गर्नु पर्नेमा उनले जोड दिए । पारदर्शी तरिकाले पार्टीलाई अगाडी बढाउनु पर्ने उनको भनाई छ । साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउने समेत चेतावनी दिए ।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरुले समेत अनशन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, पुर्ब मन्त्री राजेन्द्र कुमार केसी लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

तस्वीरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्