Logo

तालिवानको चिहान खन्दै ३२ वर्षीय मसुद



एजेन्सी, १० भदौ । तालिवानले अफगानिस्तानको सबै प्रान्तमा नियन्त्रण कायम गर्दा पनि पन्जसिर उपत्यकामाथि विजय प्राप्त गर्न सकेको छैन । अफगानिस्तानका सबैजसो भूभागमा झण्डा गाडेका तालिवानले यो प्रान्तलाई चारैतर्फबाट घेरा हालेर अन्तिम विजय हासिल गर्न प्रयासरत छन् । त्यो सजिलो देखिएको छैन ।

पन्जसिर उपत्यकामा विगतमा पनि तालिवानले शासन गर्दा नियन्त्रण बनाउन सकेनन् । त्यतिबेला युद्ध सरदार अहमद साह मसुदले तालिवानलाई पन्जसिर उपत्यका छिर्न दिएनन् । उनका लडाकुहरुले तालिवानलाई ठूलो क्षति पुर्याएका थिए । त्यसपछि तालिवानले पन्जसिरमा धावा बोल्न चाहेन ।

पन्जसिर जित्न नसकेका तालिवानले त्यहाँका युद्ध सरदार अहमद साह मसुदको भने हत्या गराए । उनी अल कायदाको आतंकवादी हमलामा मारिएका थिए । उनको हत्यापछि पनि पन्जसिर तालिवानको कब्जामा गएन ।

पन्जसिर तालिवानको कब्जामा विगतमा पनि नजानु र अहिले पनि जाने सम्भावना कम हुनुमा त्यहाँका बहादुर नागरिक पनि कारण हो । ताजिक समुदायका मानिसहरु बस्ने पन्जसिरसँग गर्व गर्न लायक इतिहास छ । ब्रिटिश, सोभियत र तालिवानविरुद्ध उनीहरुले जीत हासिल गरेका थिए ।

तालिवानमाथि विजय हासिल गरेपछि सन् २००१ मा पन्जसिर जिल्लाबाट प्रान्त बनेको थियो । यो अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो । तर, सबैभन्दा बलियो र समृद्ध प्रान्त पनि हो ।

तालिवानको नियन्त्रणबाट काबुललाई मुक्त गर्न पन्जसिरले मुख्य भूमिका निभाएको थियो । यसकारण पन्जसिरका नागरिक अफगानिस्तानको सरकार र सैनिकको उच्च नेतृत्वमा पुगेका थिए ।

अहिले पन्जसिरमा तालिवानविरुद्धको फौजको नेतृत्व ३२ वर्षीय अहमद मसुदले गरिरहेका छन् । उनी सोभियत फौज र तालिवानविरुद्धको लडाईंको नेतृत्व गरेका अहमद साह मसुदका छोरा हुन् । अहिले अहमद मसुदलाई अफगान सेना र विशेष फौजको साथ मिलिरहेको छ ।

वासिङ्टन पोष्टमा लेखमार्फत् अहमद साहले ठूलो मात्रामा हतियार थुपारेको उल्लेख गरेका छन् । आफ्ना पिताको पालादेखि अहिलेको अवस्था आउनसक्ने देखेर हतियार संकलन गरेर राखेको लेखमा भनेका छन् ।

पन्जसिरको अर्थ पाँचवटा सिंह हो । मसुदका पितालाई पनि पन्जसिरका सिंह भनिन्थ्यो । उनको बहादुरीको कदरस्वरुप यसो भनिएको थियो ।

अहमद मसुदको जन्म पन्जसिर उपत्यकामा भएको थियो । उनी अहमद साह मसुदका ६ सन्तानमध्ये जेठा हुन् । उनका हजुबाबु अफगान सेनाका जनरल थिए ।

अहमद साह मसुद सन् २००१ मा अलकायदाबाट मारिएका थिए । ११ सेप्टेम्बर सन् २००१ मा न्युयोर्कको जुम्ल्याहा भवनमा आक्रमण हुनुभन्दा दुई दिन अगाडि मसुद पनि मारिएका थिए । त्यतिबेलाका अफगानी राष्ट्रपति हमिद कारजाईले राष्ट्रका नायक घोषणा गरेका थिए ।

पिताको हत्या हुँदा अहमद मसुद १२ वर्षका थिए । विद्यालय तहको शिक्षा इरानमा लिए । उनी बेलायतमा अध्ययनका लागि गए । सैनिक एकेडेमीमा तालिम पनि लिए । लण्डन युनिभर्सिटीबाट सन् २०१६ मा अन्तर्राष्ट्रि राजनीतिमा स्नातकोत्तर गरे ।

सन् २०१६ मा अफगानिस्तान फर्किएर मसुद फाउन्डेशनका सीइओ नियुक्त भएका थिए । सन् २०१९ बाट औपचारिक रुपमा राजनीतिमा आए । स्वीस मोडलको विकेन्द्रीकरण लागू गरी अफगानिस्तानको विकास गर्ने योजना अगाडि सारे ।

१५ अक्टोबर २०२१ मा तालिवानले काबुल कब्जा गरेपछि धेरै युद्ध सरदार र अफगान अधिकारीहरुले विकसित घटनालाई स्वीकारे । तर, मसुदले तालिवानको शासनलाई अस्वीकार गरे । उनले शक्तिबाँडफाँडको प्रस्ताव राखे । तालिवानले सम्झौता गर्न नचाहे युद्धका लागि तयार हुन चेतावनी दिए । उनले भने, ‘हामीले सोभियत संघलाई पराजित गर्यौं तालिवानलाई पराजित गर्न सक्छौं ।’

पन्जसिरभित्र आफ्नै सैन्य शक्तिका साथ नेतृत्व गरिरहेका मसुदलाई आत्मसमर्पण गर्न तालिवानले भनिरहेका छन् । तर, उनी त्यसका लागि तयार छैनन् । विगतमा पन्जसिर नै तालिवानको चिहान बनेको थियो । पन्जसिर उपत्यका जित्न नसक्दा तालिवानले शासनकालमा चुनौती भोग्यो । यसपटक पनि पन्जसिरका ३२ वर्षीय अहमद मसुद तालिवानका लागि मुख्य चुनौती बन्दैछन् । उनी तालिवानलाई पराजित गरिछाड्ने दृढताका साथ लड्न तयार भएका छन् । उनी तालिवानका लागि पन्जसिरबाट चिहान खन्दैछन् ।



प्रतिक्रिया दिनुहोस्