Logo

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि



नयाँ दिल्ली, १० भदौ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो ।

सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ । मृतकको सङ्ख्या पनि अहिले बढेको छ । पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो ।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य बढी प्रभावित भएको छ । केरलामा मात्रै ३१ हजार ४४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी केरलामा पछिल्लो एक दिनमा २१५ जनाको मृत्यु भएको छ । केरलामा अहिले एक लाख ७० हजार २९२ सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख ५८ हजार ५३० जना रहेका छन् । तीमध्ये तीन लाख ३३ हजार ७२५ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार ४४० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ३४ हजार १५९ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्