Logo

माग पूरा नभएसम्म रिले अनशन जारी रहन्छ, पार्टीको वैधानिकता बचाउने जिम्मा सभापतिको काँधमा छ : जगदिशनरसिंह केसी



काठमाडौं, १० भदौ । प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले आफूहरु महाधिवेशनको विरोधी नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘हामीले महाधिवेशन भाँड्न खोजेको होईन । हामीले सभापतिहरुले पटक–पटक मिटिङ गर्ने काम गर्यौं । नेताहरुलाई विशेष महाधिवेशन गरौं भन्यौं, अर्ली महाधिवेशन गर्ने हो भनेपनि गरौं भन्यौं, पछि टाईम्ली महाधिवेशन गरौं भन्यौं । हामीले विगत तीन वर्षदेखि यो कुरा भन्दै आयौं, सुझाव दिँदै आयौं । तर, नेतृत्वले हाम्रो कुरा सुनुवाई गरेन । अहिले हामी धर्नामा छौं । हाम्रो विचार ८ लाख ५० हजार क्रियाशिल सदस्यहरुको विचार हो । धर्नामा बस्दापनि पार्टीले हाम्रो मागको सुनुवाई गरेन । हिजोदेखि हामी निरन्तर धर्नामा छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीले तत्काल क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्नुपर्ने बताए । उनले भने,‘नेपाली कांग्रेसको १४औं महाधिवेशनको मतदाताको नामावाली सार्वजनिक हुनुपर्छ, आजसम्म मतदाता को हो भन्ने कुरा थाहा छैन् । मेरो नाम छ कि छैन ? मलाई थाहा छैन् । क्रियाशिल सदस्यता सार्वजनिकीकरण गरिदिनुहोस भन्यौं । जिल्लाबाट विधिसम्मत् रुपमा क्रियाशिल टुँगो लगाएर पठाएको विषयमा पनि केन्द्रबाट प्रविधिको दुरुपयोग गरेर नाम हालिएको छ भन्ने कुरा आएको छ, यदि हो भने त्यो सच्याउनुपर्छ ।’

त्यस्तै, त्यसरी नाम सच्याउँदा दाबी÷विरोध गर्ने र सच्याउने मौका दिनुपर्ने पनि आफूहरुको अर्को माग रहेको केसीको भनाई छ । उनले आफूहरुले अघि सारेका तीन बुँदे माग आम नेपाली कांग्रेस पक्षधरको आवाज भएको बताए ।

उनले भने,‘हामी अहिले रिले अनशनमा बसेका छौं । यो कुरालाई कसले उचित र कसले अनुचित भने भन्ने कुरा ठूलो होईन, हामी अधिवेशन भाँड्ने होईन । निर्धारित मितिमा पार्टीको महाधिवेशन भएन । कांग्रेसको वैधानिकता बचाउने कुरा सभापतिले हो । उहाँलाई जिम्मा दिएका छौं । नेतृत्वले कलंक व्यहोर्नुपर्छ । अहिले अधिवेशन गर्न नचाहने भनेको अहिलेको नेतृत्व नै हो । हामीले पटक–पटक अधिवेशन र विशेष अधिवेशन गर्न माग गर्दा उहाँले चाहनुभएन । आजसम्म क्रियाशिल सदस्य को हो ? भन्ने कुरा थाहा छैन् ।’

उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकको समितिले बुझाएको क्रियाशिलको प्रतिवेदनमा सैद्धान्तिक र नीतिगत रुपमा मात्रै सहमति गरेकोले व्यवहारिक रुपमा समाधान हुनुपर्ने धारणा राखे । उनले भने,‘यो पार्टी कसैको पेवा होईन ।’



प्रतिक्रिया दिनुहोस्